चालु आवका लागि रु एक करोड ७७ लाख ८८ हजार ४७२ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि रिभरएज इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले गत पुस १२ गते रु एक करोड २२ लाख ५५ हजार २०० मा ठेक्का सम्झौता गरेको छ ।निर्माण कम्पनीले सडक फराकिलो पार्ने, पर्खाल निर्माण र पुलाचौर क्षेत्रबाट ढलान सुरु गरेको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताइन्। यो सडकबाट स्थानीयवासीका साथै रावणपार्क, पछै, ढोलथान, जगन्नाथ र टोड्केलगायत धार्मिक पर्यटकीयस्थलको दर्शन र पूजाआजाका लागि आउने भक्तजन तथा पर्यटकलाई सुविधा पुग्ने उनले बताइन् ।
उपप्रमुख लामिछानेका अनुसार बेनी–पुलाचौर–टोड्के बेनी नगरपालिकाले चालु आवमा सबैभन्दा बढी बजेट विनियोजन गरेको गौरवको आयोजना हो । आगामी जेठ १५ गतेसम्म ठेक्काको म्याद रहेको योजनामार्फत ५९७ मिटर ढलान र ३०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गरिने बेनी नगरपालिकाका सबइन्जिनियर मिलन केसीले बताए । पाँच सय दुई मिटर दूरीमा नाली र १७४.७४ घनमिटर पलम कङ्क्रिट पर्खाल निर्माण हुने उहाँले बताउनुभयो । बेनी नगरपालिका–६, ५ र मङ्गला गाउँपालिकाको १ नं वडाका बस्तीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यो सडकको बेनीदेखि बेनी नगरपालिका–६ अर्थुङ्गे– बाँसबोट–एकपाटे–अवेचौर हुँदै पुरुण्डीसम्म छ किलोमिटर सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनेको छ ।