महाशिवरात्रिमा गलेश्वर मन्दिरमा रु ४ लाख ७० हजार भेटी संकलन
- ४ फाल्गुन २०८२, सोमबार
- कमल खत्री
- 1 पटक पढिएको
म्याग्दी ५ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्रि पर्वको अवसरमा रु ४ लाख ७० हजार ९१६ भेटी रकम संकलन भएको छ । आइतवार महाशिवरात्रि पर्वको अवसरमा देशका विभिन्न ठाउँबाट आएका करिब ३० हजार बढी भक्तजनले चढाएको भेटी र दानपेटिकाहरुबाट उक्त रकम संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले जानकारी दिनुभयो ।
सोमबार सुरक्षाकर्मी, स्थानीय अगुवा, आमा समूह, युवा क्लब र कोषका पदाधिकारी तथा सदस्यहरुको रोहोबरमा मन्दिरमा भक्तजनले चढाएको दान र भेटी रकमलाई गणना गरी सार्वजनिक गरिएको हो । मूल मन्दिरसहित विभिन्न स्थानबाट रु ३ लाख ८५ हजार ५३१ र सहयोग रसिदबाट ४४ हजार १४५ तथा व्यापारिक स्थल भाडाबाट रु ४४ हजार ४०० रकम संकलन भएको कोषका कार्यलय सचिव तेजेन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो ।
मन्दिरबाट संकलन हुने भेटी रकम पूर्वाधार निर्माण, मन्दिर संरक्षण, परिसर सौन्दर्यीकरण तथा गलेश्वर क्षेत्रको समग्र विकासमा खर्च गरिँदै आएको छ । गलेश्वरमा रहेको शालिग्राम वेद विद्याश्रम, ज्येष्ठ नागरिक आश्रम, कोषको कार्यालय सञ्चालन तथा अन्य भौतिक पूर्वाधार निर्माणमा समेत उक्त रकम उपयोग गरिने कोषका अध्यक्ष रेग्मीले बताउनुभयो ।
कोषका अनुसार गलेश्वर शिवालयमा विशेष पूजाआजा हुने साउन महिनाका सोमबार, बालाचतुर्दशी र शिवरात्रिको भोलिपल्ट तथा अन्य समयमा मासिक रूपमा पनि भेटी गणना गर्ने प्रचलन रहेको छ। पवित्र कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको गलेश्वरधाम मुक्तिनाथ प्रवेशद्धार र नेपालको दोस्रो पशुपतिनाथका नामले परिचित छ । यस बर्षको शिवरात्रिमा म्याग्दीका साथै पर्वत, बागलुङ, मुस्ताङ, कास्की, तनहुँ, स्याङ्जा, विराटनगर, चितवन, भैरवा लगायतका ठाउँबाट ३० हजार बढी भक्तजनहरु आएको कोषले जनाएको छ

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l