श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
- ८ माघ २०८२, बुधबार
- 61 पटक पढिएको
म्याग्दी, ७ माघ । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाँडामा गत माघ ३ गते राती एक युवतिको हत्या भएको घटनामा संलग्न भएको आरोपमा निजकै श्रीमान पक्राउ परेका छन् । राती घरबाट सौचालय जान निस्कनुभएकी २० बर्षिया पुनमाया विकलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा निजका श्रीमान पोखरा महानगरपालिका– २३ ठुलाखेतका ३२ बर्षिय रमेश कामी पक्राउ परेका हुन्।
घटनामा विभिन्न अनुसंधान विधि र प्रविधिको प्रयोग गरी अनुसंधान गर्दा निजकै श्रीमानको संलग्नता देखिएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले पोखराको बिरौटाबाट कामीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरिक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
‘‘उनीहरुबिच केही महिनायता बैबाहिक सम्बन्धमा खटपट आएको रहेछ, माइतमा बस्दै आएकी पुनमायालाई योजनाबद्ध तवरले पोखराबाट ढोरपाटन हुँदै झिनडाँडा स्थित माइतीघरको बाहिर कुरेर रातको समयमा चक्कु प्रहार गरेको अभियुक्तले स्विकार गरेका छन, ज्यान सम्बन्धि कसुर मुद्धामा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमती लिएर थप अनुसंधान गरिरहेका छाँै’’–प्रनाउ थापाले भन्नुभयो ।
पक्राउ परेका कामीले श्रीमतीको हत्या गर्दा प्रयोग गरेको रगत जस्तो रातो दाग लागेको कम्ब्याट, रेड्मी मोबाइल फोन तथा एनसेल र एनटिसीका सिम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ । गत माघ ३ गते राती करिब ११ बजेको समयमा शौचालय गएकी पुनमाया विकलाई घरबाट बाहिर निस्कने क्रममा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा उपचारका लागि प्रदेश अस्पताल म्याग्दी, बेनीमा ल्याइएकोमा उपचारकै क्रममा सोही राति करिब २ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।