सेवाग्राहीप्रति गर्ने व्यवहार परिवर्तन गर्दै हुलाक कार्यालय
- २ माघ २०८२, बिहीबार
- 1 पटक पढिएको
म्याग्दी, १ माघ ।जिल्ला हुलाक कार्यालय म्याग्दीले सेवाग्राहीप्रति गर्ने व्यवहार परिवर्तन सम्बन्धी तालिम दिएको छ । आम नागरिकलाई चिठिपत्रका माध्ययमबाट सूचना आदान प्रदान गर्ने जिल्ला हुलाक कार्यालय र अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुलाई सेवाग्राहीमैत्री बन्न उत्प्रेरणा दिनका लागि एक दिने व्यवहार परिवर्तन सम्बन्धि अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा योग प्रशिक्षक पवित्रा बोगटी केसीले कार्यसम्पादनमा सकरात्मक सोच, योग अभ्यास सम्बन्धि अभिमुखीकरण गर्नुभएको थियो । उहाँले योग अभ्यास समेत गर्नुभएको थियो । सूचनाका चिठि बोकेर घरघरमा पुग्ने कर्मचारीहरुले सामाजिक गतिविधिको सूचनाको समेत आदान प्रदान गर्न अग्रणी भूमिका खेल्ने भएकाले एकिकृत सेवा कार्यालयको समन्वयमा कार्यक्रम गरिएको जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापाले जानकारी दिनुभयो ।
एसैबिच उक्त अवसरमा जिल्ला हुलाक कार्यालय म्याग्दीले अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पहिलो पटक निजामती पोशाक समेत उपलब्ध गराएको छ । कर्मचारीको पहिचान पोशाकबाट हुने भएकाले उक्त सहयोग गरिएको हो । ज्येष्ठ कर्मचारी लाल प्रसाद पुनको अध्यक्षतामा भएको कार्यक्रममा एकिकृत सेवा कार्यालयका प्रमुख सम्शेर घर्ति क्षेत्री र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले कार्यालयको सेवालाई सेवाग्राहीमैत्री बनाउनका लागि सोच, व्यवहार र आनिवानी परिवर्तन आबश्यक रहेकोमा जोड दिनुभयो ।
कार्याययका खरिदार मिनबहादुर बरुवालले हुलाक सेवाको अवस्था र कर्मचारीहरुलाई राज्यले दिने सेवा सुविधाको बारेमा प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन सूचना अधिकारी कलादेवी शर्माले गर्नुभएको थियो ।
