बुबा आमाको स्मृतिमा रु पाँच लाख राशीको अक्षयकोष स्थापना
- २९ पुष २०८२, मंगलवार
- 9 पटक पढिएको
म्याग्दी, २९ पुस । म्याग्दीको बेनी नगरपालिका– ७ बेनी बजारका एक परिवारले आफ्नो दिवंगत बुबा र आमाको स्मृतिमा रु पाँच लाख राशीको अक्षयकोष स्थापना गर्नुभएको छ । दिवंगत आमा पुतलीदेवी र बुबा लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा पाँच भाई छोरा बुहारी र छोरी–ज्वाइँले पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ स्मृति प्रतिष्ठान स्थापना गरी रु पाँच लाख राशीको अक्षयकोष स्थापना गर्नुभएको हो । 
छोरा बुहारीहरु सञ्जयकुमार–सानुहरी श्रेष्ठ, अजयमिलन–सृजना श्रेष्ठ, हृदयकुमार–पद्यमा श्रेष्ठ, , धनञ्जयकुमार–सन्ध्या श्रेष्ठ, विनय–कल्पना श्रेष्ठ र छोरी ज्वाई सुनितादेवी–रामलाल श्रेष्ठले स्थापना गर्नुभएको कोषबाट हरेक वर्ष म्याग्दीको सामाजिक, शैक्षिक र साहित्यिक र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिलाई पुरस्कृत तथा सम्मान गरिने जनाईएको छ । प्रतिष्ठानले पहिलो चरणमा म्याग्दीको शैक्षिक विकासमा उल्लेखनीय योगदान दिएका तीन जनालाई अभिनन्दन गर्ने घोषणा गरेको छ ।
विभिन्न कालखण्डमा म्याग्दीको शिक्षा क्षेत्रको विकासमा योगदान दिनुभएका काठमाण्डौ निवासी गोपाल नारायण भट्टचन, बेनी बजार निवासी भिमप्रसाद गौचन, र दरबाङ निवासी शिवनारायण फगामीलाई अभिनन्दन गर्न लागिएको प्रतिष्ठानका संस्थापक सदस्य सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आगामी दिनमा प्रतिष्ठानको अक्षयकोषको रकमलाई बढाउने र कोषको ब्याज रकमबाट हरेक बर्ष जिल्लामा शैक्षिक, साहित्यिक तथा साँस्कृतिक क्षेत्र मार्फत सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान सहित पुरस्कृत गरिने बताउनुभयो ।

बुबा–आमाले समेत जिल्लाको शैक्षिक तथा सामाजिक र साँस्कृतिक क्षेत्रमा योगदान दिनुभएको र उहाँहरुको प्रेरणाले आफूलाई समेत त्यसतर्फ प्रेरणा मिलेकाले दिवंगत बुबा आमाको सम्झनामा स्मृति प्रतिष्ठान स्थापना गरेको श्रेष्ठ परिवारको भनाई छ ।