बेनीमा हुन लागेको ११ औँ माघेसङ्क्रान्ति मेलाको तयारी पुरा

  • २९ पुष २०८२, मंगलवार
  • 19 पटक पढिएको

म्याग्दी , २९ पुस । म्याग्दी सदरमुकाम बेनीमा पुस ३० देखि आगामी माघ ३ गतेसम्म सञ्चालन हुन लागेको ‘११ औँ माघे संक्रान्ति मेला’, खाना महोत्सव एवं कृषि मेलाको तयारी पुरा भएको छ । बेनीको खुल्ला मञ्चमा सञ्चालन हुने मेलामा सहभागीहरुलाई प्रवेश शुल्क नलाग्ने भएको छ । खाना महोत्सवको रुपमा आयोजना हुन लागेको मेलामा सर्वसाधारणको सहजताका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले बताउनुभयो ।

 

उहाँले बेनीमा लाग्दै आएको परम्परागत माघे संक्रान्ति मेलाको जगेर्ना, स्थानीय कला संस्कृतिको संरक्षण, महिला उद्यमीहरुको प्रोत्साहन तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन खाना महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएकाे जानकारी दिनुभयाे । मेलामा जिल्लाभरबाट कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी संगै स्थानीय उत्पादन र लघुउद्यमीहरुले उत्पादन गरेका बस्तु तथा सामाग्रीको खरिद विक्रि समेत हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।


मेलाको अवसरमा खुल्ला लोनृत्य, खाना प्रतियोगिता, महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीको प्रतियोगिता, दुनाटपरी र बाटेको धुप बनाउने प्रतियोगिता, खुल्ला अन्धनिसान, लठो तान्ने, जिल्लाको पर्यटकीय स्थलहरुको विद्यालय स्तरीय खुल्ला पेन्टीङ प्रतियोगिता र छेलो लगायत प्रतियोगिता सञ्चालन हुने महिला उद्यम विकास समितिले जनाएको छ ।
उद्यमशिल सोचको विकासका लागि मेलामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको उद्यमशिल व्यवसायिक योजना प्रतियोगिता समेत समावेश गरिएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । उहाँले माघे संक्रान्ति मेलाले महिला उद्यमीहरुको नेतृत्व क्षमताको विकास हुनुको साथै जिल्लामा लुकेर रहेका प्रतिभा, कला संस्कृति र मौलिक भेषभूषाको समेत प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभयो । मेलामा कला कार्यशाला समेत आयोजना गरिएको छ । मेलाको उद्घाटनका दिन बेनी बजारमा विभिन्न जातजातिहरूले मौलिक कला संस्कृति झल्किने झाँकी प्रदर्शन गरिने भएको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साँगेतिक प्रस्तुती समेत रहनेछ । मेलाको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।