बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेलाको तयारी
- १९ पुष २०८२, शनिबार
- 39 पटक पढिएको
म्याग्दी १९ पुस । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा लाग्दै आएको माघेसङ्क्रान्ति मेलाको निरन्तरताको लागि ‘११ औँ माघे संक्रान्ति मेला’, खाना महोत्सव एवं कृषि मेला आयोजना हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस ३० देखि आगामी माघ ३ गतेसम्म बेनीको खुल्ला मञ्चमा मेलाको आयोजना गर्न लागिएको हो ।

शनिवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले परम्परागत माघे संक्रान्ति मेलाको जगेर्ना, स्थानीय कला संस्कृतिको संरक्षण, महिला उद्यमीहरुको प्रोत्साहन तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन मेला आयोजना गरिएको बताउनुभयो । मेलामा जिल्लाभरबाट कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी संगै स्थानीय उत्पादन र लघुउद्यमीहरुले उत्पादन गरेका बस्तु तथा सामाग्रीको खरिद विक्रि समेत हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
मेलाको अवसरमा खुल्ला लोनृत्य, खाना प्रतियोगिता, महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीको प्रतियोगिता, दुनाटपरी र बाटेको धुप बनाउने प्रतियोगिता, खुल्ला अन्धनिसान, लठो तान्ने, जिल्लाको पर्यटकीय स्थलहरुको विद्यालय स्तरीय खुल्ला पेन्टीङ प्रतियोगिता र छेलो लगायत प्रतियोगिता सञ्चालन हुने महिला उद्यम विकास समितिले जनाएको छ ।

उद्यमशिल सोचको विकासका लागि मेलामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको उद्यमशिल व्यवसायिक योजना प्रतियोगिता समेत समावेश गरिएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । उहाँले माघे संक्रान्ति मेलाले महिला उद्यमीहरुको नेतृत्व क्षमताको विकास हुनुको साथै जिल्लामा लुकेर रहेका प्रतिभा, कला संस्कृति र मौलिक भेषभूषाको समेत प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभयो ।
मेलाको उद्घाटनका दिन बेनी बजारमा विभिन्न जातजातिहरूले मौलिक कला संस्कृति झल्किने झाँकी प्रदर्शन गरिने भएको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साँगेतिक प्रस्तुती समेत रहनेछ । मेलामा कृषि ज्ञान केन्द्रको सहकार्यमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनको प्रदर्शनी तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहकार्यमा पशुजन्य उत्पादनको प्रदर्शनी समेत राखिने भएको छ । मेलालाई सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरी तयारी थालिएको समितिका महासचिब प्रमिला जोशी श्रेष्ठले जानकारी दिनुभयो ।