म्याग्दीमा अहिलेसम्कै धेरै अबैध भरुवा बन्दुक बरामद, एक महिनामै ११५ थान बन्दुक संकलन

  • १८ पुष २०८२, शुक्रबार
  • कमल खत्री
  • 1 पटक पढिएको

म्याग्दी, १८ पुस । म्याग्दीमा ठूलो संख्यामा अवैध हातहतियार बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले गत मंसिर १५ गतेदेखि अवैध भरुवा बन्दुक संकलनका लागि सुरु गरेको ‘अप्रेशन ब्राभो सेरा’ अभियानबाट एक महिनाकै अवधिमा एक सय १५ थान अवैध भरुवा बन्दुक बरामद गरेको हो ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जंगलमा हुने चोरी शिकारीलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरुवा बन्दुक नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार, सबैभन्दा धेरै रघुगंगा गाउँपालिका क्षेत्रबाट ४८ थान भरुवा बन्दुक बरामद भएको छ । अन्नपूर्ण गाउँपालिका क्षेत्रबाट १६ थान, मालिका गाउँपालिका क्षेत्रबाट २० थान, मंगला गाउँपालिका क्षेत्रबाट १४ थान, धवलागिरी गाउँपालिका क्षेत्रबाट ६ थान र बेनी नगरपालिका क्षेत्रबाट ११ थान इजाजत पत्र नभएका भरुवा बन्दुक बरामद भएको छ ।
म्याग्दी जिल्लामा समेत पर्ने ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र र विभिन्न सामुदायिक बनहरुमा चोरी शिकारी बढेको र गाउँघरमा आपसी विवाद र झै–झगडामा समते भरुवा बन्दुकको दुरुपयोग हुने जोखिम बढेकाले इजाजत पत्र नलिइकन लुकाई छिपाई राखिएका भरुवा बन्दुकहरुलाई संकलन गरी बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका इकाईहरुबाट भएका गस्ती तथा स्थानीयबासीबाट प्राप्त सूचनाका आधारमा गोठ, जंगल, खोलाखोल्सा तथा बसोबास नभएका खाली घरहरुमा लुकाएर राखेको अवस्थामा अबैध बन्दुकहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार, बरामद भएका धेरैजसो भरुवा बन्दुक स्थानीय स्तरमै बनाईएको र चालु अवस्थामै रहेको भेटिएको छ । इजाजतपत्र नलिइकन भरुवा बन्दुक प्रयोग गरेमा ५ बर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।     

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l