बेनी नगरपालिकाको नगर सभाबाट बजेट संसोधन
- १४ पुष २०८२, सोमबार
- 1 पटक पढिएको
बेनी, १४ पुष ः म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट संसोधन गरेको छ । बेनीमा सोमबार भएको १८ औ नगरसभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको हो । गत असारमा भएको नगरसभाबाट कुल ७१ करोड ८० लाख २७ हजार बजेट बिनियोजन गरेकोमा गत आर्थिक वर्षमा खर्च हुन नसकेको बजेट समावेश गरेर रु. ७३ करोड नौ लाख ६२ हजार कायम गरिएको नगर उपप्रमुख लामीछानेले बताउनुभयो ।
उहाँका अनुसार चालुतर्फ रु. ५३ करोड ७३ लाख ४५ हजारबाट बढाएर रु. ५३ करोड ८७ लाख नौ हजार नौ सय ९३ र पँुजिगत तर्फ रु. १८ करोड छ लाख ८२ हजारलाई संसोधन गरेर रु. १९ करोड २२ लाख ५२ हजार सात कायम गरिएको हो । थप ४३ वटा योजनाका लागि रु. एक करोड २८ लाख ८५ हजार र सात वटा आन्तरीक रोजगारी प्रर्वद्धन कार्यक्रम (प्रधानमन्त्री रोजगार)का लागि रु. १० लाख ५४ हजार बिनियोजन भएको छ । बेनीको खुल्लामञ्च स्तरोन्नतिका लागि थप रु. १५ लाख र मुख्यमन्त्री नवप्रर्वद्धन कार्यक्रमका लागि रु. सात लाख ६५ हजार बिनियोजन भएको छ । १० वटा वडा कार्यालयले सिफारिस गरेका योजनाहरुलाई थप रु. सात÷सात लाखका दरले बजेट बितरण भएको छ । रु. एक करोड ६३ लाख बजेटका ५० वटा योजना संसोधन भएको नगर प्रमुख सुरत केसीले बताउनुभयो । ३० प्रतिशत बजेट खर्च र आन्तरिक आम्दानीको ४३ प्रतिशत लक्ष्य हाँसिल आर्थिक वर्षको पाँच महिनाको अवधीमा कुल २९ दशमलब ९९ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ रु. २१ करोड ८७ हजार पाँच सय ५० र पँुजिगत तर्फ रु. ५३ लाख तीन सय एक खर्च भएको नगरसभामा जानकारी गराइएको थियो । कुल रु. चार करोड ३३ लाख ५० हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएकोमा रु. एक करोड ८७ लाख ५९ हजार तीन सय तीन राजस्व संकलन भई ४३ दशमलब २७ प्रतिशत लक्ष्य हासिल भएको छ । वडा कार्यालयले संकलन गर्ने राजस्वको आधारमा आन्तरिक आम्दानीको बजेट बिनियोजन गर्ने अभ्यास थालिएको नगर उपप्रमुख लामिछानेले बताउनुभयो । शिक्षा ऐन संसोधन नगर सभाले बेनी नगरपालिकाको शिक्षा ऐन, २०७४ लाई संसोधन गरेको । कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक चक्रबहादुर केसीले प्रस्तुत गर्नुभएको ऐनको पहिलो संसोधन गर्ने विधेयक सभामा सर्बसहमतिमा पारित भएको हो । नगर प्रमुख सुरत केसीले नगर शिक्षा समितिको सदस्यमा स्रोत व्यक्ति रहने व्यवस्था हटाएर शिक्षा क्षेत्रमा क्रियाशिल शिक्षाप्रेमी, विज्ञ, समाजसेवी, वुद्धिजिवी मध्यबाट एक जना महिला पर्ने गरि समितिले मनोनित गरेको तीन जना सदस्य रहने ब्यवस्था गरिएको जानकारी दिनुभयो । दुई करोड बेरुजु नियमित नगरसभाको लेखा समितिका संयोजक यामबहादुर बानियाले प्रस्तुत गर्नुभएको रु. दुई करोड चार लाख १५ हजार दुई सय एक रुपैया ३० पैसा बेरुजु नियमित गर्ने प्रस्ताव सभाले पारित गरेको छ । रु. १६ करोड बेरुजु रहेको नगरपालिकाले कागजात र प्रमाण जुटाएर थप नौ करोड बेरुजु घटाउने प्रयासमा रहेको नगर प्रमुख केसीले सभाका सदस्यहरुलाई जानकारी गराउनुभएको थियो । लेखा समितिको पाँच बुदे सुझाव लेखा समितिले दिएका पाँच बुदे सुझावलाई सम्मान र आत्मसात गरिने उहाँले प्रतिवद्धता जनाउनुभयो । लेखा समितिले खरिद कार्यलाई प्रतिस्पर्धी बनाउन, जटिल प्रकृतिका निर्माण कार्यलाई उपयुक्त खरिद बिधीबाट गर्न र नागरिक निगरानी बढाउने, एकै प्रकृतिको बस्तु तथा सेवालाई एकमुष्ठ प्याकेज बनाएर ठेक्का मार्फत खरिद गर्न, लागत अनुमान, बोलपत्र कागजात तयारी र कागजात परीक्षणलाई बस्तुनिष्ठ बनाउदै कर्मचारीलाई जिम्मेवार र क्षमता वृद्धिका लागि सुझाव दिएको छ । नगरसभामा शून्य समयको ब्यवस्था नगरसभा सदस्यहरुको तर्फबाट बेनी नगरपालिका–७ का विश्वास श्रेष्ठ (सोहन)ले राख्नुभएको नगरसभामा शून्य समयको ब्यवस्था गर्नुपर्ने प्रस्तावलाई आगामी सभामा कार्यान्वयनमा ल्याइने नगरप्रमुख केसीले प्रतिवद्धता जनाउनुभयो । अर्का नगरसभा सदस्य चन्द्रकान्त रिजालले गौस्वाराका कुटी निर्माणका लागि बिनियोजन भएको रु. १५ लाख बजेट संसोधन भएका विषयमा जिज्ञाशा राख्नुभएको थियो । चार वर्ष सौहार्दपूर्ण सभामा धन्यवाद मन्तब्य व्यक्त गर्दै कार्यपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले चार वर्षसम्म नगरपालिका सौहार्दपूर्ण हिसाबले सञ्चालन भएको बताउनुभयो । नगरसभा र कार्यपालिकाका सबै निर्णयहरु सर्बसम्मत गरेर कार्यन्वयनमा लगिएको बताउदै बाँकी कार्यकाल पनि छलफल, सहकार्य र समन्वय गरेर सफल पारिने उहाँले प्रतिवद्धता जनाउनुभयो । नौ जनालाई सम्मान र पुरस्कार नगरसभामा उत्कृष्ट कर्मचारी, उपभोत्ता समिति, टोल विकास संस्था, उपभोक्ता समिति र निर्माण ब्यवसायीलाई सम्मान गरिएको छ । गत आर्थिक वर्षमा तीन वटा योजनाको ठेक्का लिएर निर्धारित समयमै काम सम्पन्न गरेको एसएस बिल्डर्सका सञ्चालक नवराज बरुवाल, पात्लेखेतको छरटोल देखि साविले गोरेटो बाटो उपभोक्ता समितिका अध्यक्ष जिवन राम्जाली र सिंगा तल्लो तातोपानी टोल विकास संस्थाका उपाध्यक्ष सिता घले बुढा र सबैभन्दा बढी कर तिर्ने वडा नं. ८ की मिठुकुमारी श्रेष्ठलाई सम्मान गरिएको थियो । यसैगरी अधिकृत स्तरको कर्मचारीतर्फ जनस्वास्थ्य अधिकृत चन्दन सुवेदी, स्वास्थ्यकर्मीतर्फ रत्नेचौर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक होमनाथ गौतम, वडा कार्यालयमा कार्यरत कर्मचारीतर्फ वडा नम्बर ८ का सचिव रमेश पौडेल, सहायक स्तरको कर्मचारीमा अल्पकालिन सेवा केन्द्रका प्रमुख साधना केसी र कार्यालय सहयोगी मध्यबाट लक्ष्मण क्षेत्रीलाई सम्मान गरिएको हो । उत्कृष्ट करदाता श्रेष्ठले गत आर्थिक वर्षमा नगरपालिकालाई सबैभन्दा बढी रु. ६८ हजार एक ८७ दशमलब १५ राजस्व तिर्नुभएको प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो । नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने पौडेल र प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले कदरपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गर्नुभएको थियो । उत्कृष्ट, विद्यालय, शिक्षक र विद्यार्थीको पुरस्कार अर्को छुट्टै कार्यक्रममा वितरण गरिएकाले नगरसभामा नगरिएको नगर प्रमुख केसीले बताउनुभयो ।