युवाहरुको अनुकरणीय काम:‘बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान’
- १४ पुष २०८२, सोमबार
- 33 पटक पढिएको
म्याग्दी , १४ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवाहरुले सरकारी बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान निर्माण गरेका छन् । स्थानीय देउराली आधारभूत विद्यालय परिसरको खेलमैदानमा युवाहरुको समेत खेलकुद गतिविधिले विद्यालयको पठनपाठनमा असर गर्न थालेपछि युवाहरुले राम्चे गाउँमा व्यवस्थित र आकर्षक खेलमैदान निर्माण गरेका हुन् ।

न्यू देउराली युवा क्लबको नेतृत्वमा गाउँपालिका र वडाकोे बजेटमा चन्दा सहयोग र श्रमदान जुटाएर करिब रु ८१ लाख बढी लगानीमा खेलमैदान तयार गरिएको हो । चार बर्ष अघि जग्गा खरिद गरेर सुरु भएको खेलमैदान निर्माण योजनामा अहिलेसम्म रु ८१ लाख ४५ हजार नगद लगानी भएको छ भने युवाहरुले लाखौँ रकम बराबरको श्रमदान समेत गरेका छन् ।
ढलान सहितको खेलमैदान, क्लब भवन, शौचालय, वरिपरी घेराबार, दर्शकका लागि प्याराफिट र कार्यक्रम सञ्चालनका लागि स्टेज समेत निर्माण गरिएको न्यू देउराली युवा क्लबका अध्यक्ष खिमबहादुर पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार, खेलमैदान निर्माण भएपछि गाउँमा युवाहरुलाई दैनिक रुपमा खेल अभ्यास गर्न र विभिन्न अवसरहरुमा खेलकुद गतिविधि गर्न सहज भएको छ । जग्गा सम्याउने,खेलमैदान ढलान,ग्यावियन झाली लगाउने,स्टेज निर्माण,प्याराफिट,घेराबार, बास्केटबलको फाइबर बोर्ड राख्ने र भलिबलको पोल राख्ने लगायतका कामहरु गरेर व्यवस्थित खेलमैदान तयार भएको क्लबले जनाएको छ । खेलमैदानमा निर्माण भएको प्याराफिटमा समेत छानो राखेर थप व्यवस्थित बनाउने क्लबको योजना रहेको छ । खेलमैदान निर्माणमा वडा,गाउँपालिका, स्थानीय आमा समूह, बाबा समूह, टोल समूह स्वदेश तथा विदेशमा रहेका स्थानीयबासीहरुले आर्थिक सहयोग गरेका छन् ।
खेलमैदान निर्माण गर्न वडा र पालिका स्तरीय योजना अन्तर्गत खेलमैदान ढलानमा रु १४ लाख, खेलमैदान परिसरमा क्लब भवन बनाउन रु ६ लाख, शौचालय बनाउन रु १३ लाख, स्टेज निर्माणमा रु १० लाख, घेरावार निर्माणमा रु ४ लाख, प्याराफिट निर्माणमा रु ६ लाख बजेट विनियोजन भएको थियो । बास्केटवल मैदानमा फाइबर बोर्ड राख्न देउराली आमा समूहले रु २ लाख २० हजार सहयोग गरेका थिए । देश तथा विदेशमा रहेका राम्चेबासीबाट चन्दा संकलन अभियानबाट थप करिब २६ लाख बराबरको सहयोग जुटाएर खेलमैदानको पूर्वाधार निर्माणमा परिचालन गरिएको क्लबले जनाएको छ । ‘‘ हामीले रु ७ लाख ऋण खोजेर खेलमैदान बनाउन सुरु गरेका थियौँ, वडा र गाउँपालिकाबाट नियमित रुपमा बजेट विनियोजन भयो, स्वदेश तथा विदेशमा रहनुभएका स्थानीयबासीले समेत मन खोलेर सहयोग गर्नुभयो, हामी युवाहरुले पनि सकेको श्रमदान ग¥यौ, अहिले खेलमैदानका लागि आबश्यक पर्ने अधिकाँश पूर्वाधार तयार भएको छ’’– क्लब अध्यक्ष पुर्जाले भन्नुभयो । उहाँका अनुसार, क्लबले बजेटमा सहयोग र श्रमदान जुटाएर पूर्वाधार निर्माण गरी कोषमा समेत केहि रकम बचत गर्न सफल भएको छ ।
वि.स. २०४१ सालमा स्थापना भएको यस क्लबले यस अघि विद्यालय परिसरमा रहेको खेलमैदानमा खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने बाध्यता रहेको थियो । युवाहरुको खेल अभ्यास र गतिविधिसंगै विद्यालयको आन्तरिक खेलकुद र पठनपाठन समेत प्रभावित बन्ने गरेको अवस्थामा सरकारी तवरबाट विनियोजन हुने बजेटमा थप सहयोग रकम र श्रमदान जुटाएर युवाहरुले उत्कृष्ट काम गरेको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका वडा अध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो ।
‘चार बर्षको अवधिमा सरकारी बजेट, सहयोग रकम र श्रमदानबाट करिब एक करोडको हाराहारीमा पूर्वाधार बनेको छ, यो बर्ष समेत क्लबको भवनमा सिलिङ बनाउन पालिकाबाट रु तीन लाख बजेट विनियोजन गरेका छौँ–वडा अध्यक्ष गर्बुजाले भन्नुभयो । नवनिर्मित खेलमैदानमा नियमित खेल अभ्यासका साथै मेला पर्व र गाउँमा आयोजना हुने सार्वजनिक महत्वका कार्यक्रम सञ्चालनमा सहज भएको छ । (तस्बिर उपलब्ध छ)