अन्नपूर्ण आभारभूत विद्यालमा ‘विद्यालयसंग पूर्व विद्यार्थी कार्यक्रम’ सञ्चालन
- ११ पुष २०८२, शुक्रबार
- 29 पटक पढिएको
म्याग्दी, ११ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–सिजलगाउँमा रहेको अन्नपूर्ण आधारभूत विद्यालयले विद्यालयको शैक्षिक विकासका लागि ‘विद्यालयसंग पूर्व विद्यार्थी कार्यक्रम’ सञ्चालन गरेको छ । देश तथा विदेशमा छरिएर रहेका विद्यालयका पूर्व विद्यार्थीहरुलाई विद्यालयको शैक्षिक विकासमा सहकार्यका लागि विद्यालयले सञ्चालन गरेको उक्त अभियानबाट विद्यालयका सबै बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । 
हाल युकेमा रहनुभएका विद्यालयका पूर्व विद्यार्थी मेखबहादुर भण्डारी र पशुपति भण्डारीको दम्पतीले विद्यालयले सञ्चालन गरेको उक्त अभियानको शुभारम्भ गर्दै विद्यालयका २५ जना विद्यार्थीहरुलाई रु ५० हजार ६३ बराबरको न्यानो कपडा सहितको पोशाक वितरण गर्नुभएको हो ।
सहयोगदाता भण्डारी दम्पतीबाट प्राप्त उक्त सहयोग रकमबाट टिसर्ट, स्विटर र ट्याकसुट सहितको न्यानो कपडा वितरण गरिएको छ । शुक्रवार एक कार्यक्रमका बिच सहयोगदाता भण्डारी दम्पतीबाट प्राप्त उक्त न्यानो कपडा विद्यार्थीहरुलाई वितरण गरिएको छ । रघुगंगा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी,सहयोगदाता पशुपती भण्डारीका बुबा भिमबहादुर बरुवाल र मेखबहादुर भण्डारीका जेठी आमा ओमकुमारी भण्डारीले विद्यार्थीहरुलाई उक्त सामान वितरण गर्नुभएको थियो ।
विद्यालयको शैक्षिक विकासका लागि पूर्वविद्यार्थी र अभिभावकहरुको समेत महत्वपूर्ण भूमिका हुने भएकाले आफुहरु प्रवासमा रहेपनि विद्यालयको आबश्कतालाई ध्यानमा राखेर बालबालिकाहरुको न्यानो पोशाकका लागि सहयोग गरिएको सहयोगदाता मेख भण्डारीले बताउनुुभयो ।
एसैबिच विद्यालयले सञ्चालन गरेको ‘विद्यालयसंग पूर्व विद्यार्थी कार्यक्रम’ अन्तर्गत विद्यालयका पूर्व विद्यार्थी सबिना भण्डारीले बाल कक्षाको लागि एक थान स्मार्ट टेलिभिजन सहयोग गर्नुभएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारीले पालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको बताउँदै सहयोगदाताहरुको सहयोगले विद्यालयहरुको शैक्षिक तथा भौतिक सुधारमा रचनात्मक सहयोग पुग्ने बताउनुभयो ।
विद्यालयको शैक्षिक विकासका लागि छरिएर रहेका पूर्व विद्यार्थी, शिक्षक तथा अभिभावकहरुबाट सहयोग जुटाउने उदेश्यले विद्यालयले ‘विद्यालयसंग पूर्व विद्यार्थी कार्यक्रम’ सञ्चालन गर्ने घोषणा सहित विद्यालयलाई आबश्यक पर्ने शैक्षिक सामाग्रीहरुको सूचि नै सार्वजनिक गरिएकोमा सहयोगदाताहरुबाट सहयोग जुट्न थालेको विद्यालयका प्रअ राम्जी भण्डारीले बताउनुभयो ।
उहाँले सहयोगदाताहरुलाई आभार प्रकट गर्दै आगामी दिनमा समेत पूर्व विद्यार्थी, पूर्व शिक्षक र अभिभावकहरुबाट सहयोग आउने आसा व्यक्त गर्नुभयो । यस विद्यालयले ‘विद्यालय हाम्रो जिम्मेवारी सबैको’भन्ने नारालाई आत्मसाथ गर्दै विद्यालयका पूर्व विद्यार्थी, पूर्व शिक्षक र अभिभावकहरुलाई जोड्ने अभियानलाई अघि बढाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिर्गादक्त शर्माको अध्यक्षता,शिक्षक कलावती पालको स्वागत र प्रअ भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।