डाँडागाउँको खटेनबाट आमा छोरी सम्पर्क विहिन

  • ७ पुष २०८२, सोमबार
  • 1 पटक पढिएको

म्याग्दी, ७ पुस । म्याग्दीको मालिका गाउँपालिका– ३ डाँडागाउँको खटेनबाट ४ बर्षिय बालिका सहित एक महिला सम्पर्क विहिन हुनुभएको छ । पुस ५ गते अपरान्न ४ बजेदेखि खटेन निवासी कमला खत्री पटेल र उहाँकी छोरी ४ बर्षिय प्रतिक्षा घरबाटै सम्पर्क विहिन हुनुभएको हो ।

घरका अन्य सदस्यहरु घरबाहिर काममा गएको समयमा छोरी सहित पटेल घर छाडेर हिडेको र सम्पर्कमा नआएको उहाँका श्रीमान प्रकाश पटेलले जानकारी दिनुभयो । उहाँका अनुसार छोरी सहित सम्पर्क विहिन हुनुभएकी कमलाले आफ्नो मोवाईल समेत घरमै छाडेर गएको र माइतलगायत आफन्तकहाँ कतैपनि नभेटिएपछि खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय दरबाङमा खोजविनका लागि निवेदन दिईएको छ ।

सम्पर्क विहिन हुनुअघि पटेल दम्पतीबिचमा सामान्य घरायसी विवाद भएको र ७ बर्षका छोरा समेत घरमा नभएको समयमा कमलाले छोरीलाई आफु संगै लिएर घर छाडेको बताईएको छ । सम्पर्कविहिन भएका कमला र उहाँकी छोरीलाई कहिँकतै देखेमा घरपरिवार र नजिकको प्रहरीलाई खवर गरिदिन परिवारजनले अनुरोध गरेका छन् ।