विश्व ध्यान दिवस: विद्योदयका विद्यार्थी र शिक्षकद्वारा सामूहिक ध्यान
- ६ पुष २०८२, आईतवार
- 13 पटक पढिएको
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको देशव्यापी अभियान अन्तर्गत आज बेनी-१०, वाखेतस्थित विद्योदय माध्यमिक विद्यालयमा ‘विश्व ध्यान दिवस २०२५’ भव्य रूपमा सम्पन्न भएको छ। “विश्व शान्ति र सद्भावका लागि ध्यान” भन्ने आदर्श वाक्यलाई आत्मसात गर्दै विद्यालयले आइतबार बिहान विशेष ध्यान सत्रको आयोजना गरेको हो। सरकारले निर्धारण गरेको समय तालिका अनुसार बिहान ठीक १०:०० बजेदेखि १०:१५ बजेसम्म विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीहरूले सामूहिक ध्यान गरेका थिए। 
विद्यालयको खुला प्राङ्गणमा लामबद्ध भएर बसेका सहभागीहरूले १५ मिनेटसम्म पूर्ण मौनता कायम गरी एकाग्रताको अभ्यास गरे। कार्यक्रममा बोल्दै विद्यालयका सहकर्याकलाप प्रमुख थकदेवी जुग्जालीले भन्नुभयो, “आजको प्रतिस्पर्धी युगमा विद्यार्थीहरूमा बढ्दै गएको मानसिक तनाव र चञ्चलतालाई कम गर्न ध्यानको ठूलो भूमिका हुन्छ। मन्त्रालयले सुरु गरेको यो सकारात्मक प्रयासले विद्यार्थीहरूको सिकाइ क्षमता र अनुशासनमा समेत टेवा पुग्ने हामीले विश्वास लिएका छौँ।” ध्यान सत्र पछि विद्यार्थीहरूलाई ध्यान गर्दा हुने वैज्ञानिक फाइदा र यसले मस्तिष्कको कार्यक्षमतामा पुऱ्याउने सकारात्मक प्रभावका बारेमा संक्षिप्त जानकारी गराइएको सूचना अधिकारी अमृता जिसि रोकाले जानकारी दिनुभयो ।
विद्यालयले यस कार्यलाई केवल एक दिनको औपचारिकतामा मात्र सीमित नराखी आगामी दिनमा पनि प्रार्थना समयको केही अंश ध्यानका लागि छुट्याउने प्रतिबद्धता जनाएको छ। विद्यालयले यस अघि पनि शिक्षक तथा विद्यार्थीहरुको लागि एक हप्ते योग शिविर सम्पन्न गरिसकेको छ । । नेपाल सरकारले आज पुस ६ गते (डिसेम्बर २१) का दिन देशभरका ७७ वटै जिल्लाका विद्यालयमा अनिवार्य रूपमा ध्यान दिवस मनाउन परिपत्र जारी गरेको थियो। सोही अनुरूप विद्योदयले स्थानीय परिवेश र विद्यार्थीको उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो।