अन्नपूर्णको राष्ट्रपति रनिङ्ग शिल्डकाे उपाधी मुक्तिमार्ग माविलाइ

  • २ मंसिर २०८२, सोमबार
  • 117 पटक पढिएको

बेनी, ३० कात्तिक ः अन्नपूर्ण गाउँपालिका–८ नांगीमा आइतबार सम्पन्न अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा घारको मुक्तिमार्ग मावि च्याम्पीयन भएको छ । आठ स्वर्ण, पाँच रजत र पाँच कास्य पदक सहित गत वर्षको उपबिजेता मुक्तिमार्ग पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको बिजेता बनेको हो । सात स्वर्ण, नौ रजत र तीन कास्य पदक जितेको ज्ञानप्रकाश मावि दृतीय र चार स्वर्ण, छ रजत र चार काश्य पदक जितेको प्रभा मा.वि. तृतीय भएको अन्नपूर्ण गाउँपालिकाको सहायक शिक्षा अधिकृत मेखबहादुर घर्ती क्षेत्रीले बताउनुभयो । कवड्डी, एथलेटिक्स र भलिबल बिधाको ३० वटा खेलमा १० वटा मावि र दुई वटा अधारभूत विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको बिजेताले नगद रु. ५० हजार सहित रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता र तृतीयले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ३० हजार र २० हजार प्राप्त गरेका छन् । प्रतियोगितामा शिख माविले चार स्वर्ण, पाँच रजत र चार कास्य, सर्वोदय माविले तीन स्वर्ण, दुई रजत र चार कास्य, नारच्याङ आधारभूतले दुई स्वर्ण, दुई रजत र एक कास्य, हिमाञ्चल माविले एक स्वर्ण र दुई कास्य, पाउद्धार माविले एक स्वर्ण पदक जितेका छन् । बिजयी खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डे, सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामी, अन्नपूर्ण–८ का वडा अध्यक्ष खमबहादुर गर्बुजा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।