दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति शुरु

  • २९ कार्तिक २०८२, शुक्रबार
  • 1 पटक पढिएको

 

म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति शुरु भएको छ ।गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्र गर्ने योजना शुरु भएको हो ।

पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले धवलागिरी गाउँपालिका–७ मच्छिममा पहिलो चरणमा सडक फराकिलो पार्न थालेको म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुुविन)ले जानकारी दिनुभयो ।

“मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि रु. ९२ करोड ९२ लाखको स्रोत सुनिश्चितता भएको थियो,” उहाँले भन्नुभयो “योजना मार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रबिधिको कालोपत्र र ढलान हुुनेछ् ।”

पूर्वाधार विकास कार्यालय र ठेकेदारका प्राविधिक टोलीले संयुक्त सर्वेक्षण सकेपछि गत हप्तादेखि उपकरण र मजदुर परिचालन भएका हुन् । गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मका मध्ये सबैभन्दा ठूलो र धेरै बजेटको आयोजना भएको जुग्जालीले बताउनुभयो ।

प्रशासनीक खर्च बाहेक रु. ६७ करोड लागत अनुमान गरिएको योजना कार्यान्वयनका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा सबैभन्दा कम रु. ५२ करोड ८० लाख ५३ हजार कबोलेको सिम्रन÷सक्षम जेभीसँग २०८२ असार ११ गते ठेक्का सम्झौता भएको थियो ।

 

म्याग्दीको मंगला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले जुग्जालीले गण्डकी प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा वि.स. २०८० माघमा यो सडकलाई संघीय समपूरक योजनामा समावेश गराउने निर्णय गराउनुभएको थियो ।

 

संघीय र प्रदेश सरकारको (समपुुरक) ५०÷५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधी २७ महिनाको रहेको कार्यालय प्रमुख बिष्णु पौडेलले जानकारी दिनुभयो । संघीय र प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ मा रु. २४ बजेट विनियोजन गरेको यस योजनाका लागि चाालु आर्थिक वर्ष २०८२÷०८३ मा रु. २३ करोड २२ लाख बिनियोजन भएको छ ।

 

उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको चार किलोमिटर दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि आर्थिक वर्ष २०८०÷०८१ मा रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनी रामसागर–बिएस धवलागिरि जेभीले करिब ६० प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

बेनीबाट मङ्गला हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने २४ किलोमिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । बेनी–तोलाबाङ खण्डमा १८ किलोमिटर कालोपत्र भएको छ । यो सडकले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाको पूर्वाधार र आर्थिक क्षेत्रमा रुपान्तरण गराउने अपेक्षा गरिएको वडा नं.–३ का अध्यक्ष तथा गाउँकार्यपालिकाका प्रवत्ता देवेन्द्र रोकाले बताउनुभयो ।

 

वि.स. २०७१ मा मुनामा सडक पुगेको थियो । हाल कच्चि अवस्थामा रहेको सडक गाउँपालिकाले मर्मत गरेर यातायात सञ्चालनको ब्यवस्था मिलाएको छ । सडक स्तरोन्नति शुरु भएपछि स्थानीयबासीमा खुसीयाली छाएको उहाँले बताउनुभयो । सडक निर्माणलाई गुणस्तरीय हिसाबले समयमै सम्पन्न गराउन गाउँपालिकाले समन्वय र सहजिकरण गर्ने रोकाले बताउनुभयो ।

 

मुना हुँदै मरेनीबाट जलजला र ढोरपाटन जोड्ने सडकको गत आर्थिक वर्षमा मार्ग खुलेको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । “गत वर्ष मार्ग खुलेको मुना–खोरीया–मरेनी–जलजला खण्डको सडकमा यातायात सञ्चालन गर्न मर्मतका लागि सडक डिभिजनसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई ताकेता गरेका छौ,” उहाँले भन्नुभयो “बेनी देखि मुना खण्डको सडक स्तरोन्नतिसँगै जलजला हुदै ढोरपाटनको मार्ग खुलेपछि स्थानीयबासीका साथै ढोरपाटन घुम्न जाने पर्यटकहरुलाई सहज हुनेछ् ।”