मौवाफाँटमा शान्ति सुरक्षा र अपराध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

  • ७ आश्विन २०८२, मंगलवार
  • 121 पटक पढिएको

म्याग्दी, ७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्वन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको सहआयोजना र रघुगंगा गाउँपालिकाको आयोजनामा मंगलवार सम्पन्न कार्यक्रममा सहभागीहरुले चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने र अपराधिक गतिविधि नियन्त्रणमा स्थानीय तह, समुदाय र सुरक्षा निकायबिच रचनात्मक सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीले चाडपर्वको समयमा अतिरिक्त जमघट हुने भएकाले भयरहित वातावरण बनाउन सबै सरोकारवालाहरुमा समन्वय हुनुपर्ने बताउनुभयो । उहाँले म्याग्दी जिल्लामा चाडपर्वको समयमा अत्यधिक मेलापर्व आयोजना हुने र त्यहीबाटै युवाहरुमा मनमुटाम र झैझगडाको सुरुवात हुने भएकाले मेलापर्वलाई व्यवस्थित र मर्यादित तवरले सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुर्यबहादुर थापाले जिल्लामा चाडपर्व लक्षित सुरक्षा रणनीति लागु गरी शान्ति सुरक्षालाई बलियो बनाउने तयारी गरिएको बताउँदै प्रविधिको प्रयोग गरी हुने ठगीबाट जोगिन सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले शान्ति सुरक्षाको प्रत्याभूति गराउन सुरक्षा निकायको जिम्मेवारी हुने र समयमै वास्तविक घटनाको सूचना दिनु हरेक नागरिकको दायित्व हुने बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले चाडपर्वको समयमा शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नियन्त्रणमा आबश्यक सतर्कता अपनाईएको बताउँदै सुरक्षा निकाय र सरोकारवालासंग आबश्यक समन्वय गरिने बताउनुभयो । उहाँले गाउँपालिकाभित्र आयोजना हुने मेला पर्वहरुलाई समेत शान्त र मर्यादित रुपमा सञ्चालन गर्न आयोजक र युवा क्लबहरुसंग पालिकाले आबश्यक छलफल गर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष भविन्द्र शेरपुञ्जा र गाउँपालिकाका शिक्षा समितिका सदस्य मुकुन्द शर्माले मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले गर्नुभएको थियो । उक्त अवसरमा बिजया दशमी र तिहार लगायतका नेपाली चाडपर्वहरुको शुभकामना आदान प्रदान सहित नवआगन्तुक प्रजिअ तिवारीलाई स्वागत समेत गरिएको थियो ।