पहिरोले बाटो बगाएपछि दुई महिनादेखि जोखिमपूर्ण यात्रा गर्दै बगरबासी (भिडियो)
- ६ आश्विन २०८२, सोमबार
- कमल खत्री
- 249 पटक पढिएको
म्याग्दी ६ असोज । म्याग्दीको धवलागिरी गाउँपालिका– ४ बगर र जेल्टुङ गाउँबासीले विगत दुई महिनादेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । गाउँबाट वडा कार्यालय, गाउँपालिका र जिल्ला सदरमुकाम जानका लागि प्रयोग हुने जेल्टुङ–नाउरा सडकखण्ड अन्तर्गत लप्किसको खोल्सामा पहिरोले बाटो बगाएपछि दुई महिनादेखि भ¥याङ र डोरीको सहायताले आवत जावत गर्नुपर्ने बाध्यता आएको हो ।
असार अन्तिमदेखि पहिरो जान थालेको र अहिले करिब ८ मिटर बाटो पूर्ण रुपमा बगाएर लगेको स्थानीय कैलास आधारभूत विद्यालयका शिक्षक जगलाल हर्मेलले जानकारी दिनुभयो । उहाँका अनुसार, ठाडो खोल्साबाट आएको बाढी पहिरोले बाटोको बेस नै नरहने गरी बगाएपछि स्थानीयबासीले आवत जावतमा जोखिमपूर्ण यात्रा गर्दै आएका छन् ।
दैनिकजसो सर्वसाधारण ओहोर दोहोर गर्ने बाटो पहिरोले बगाएपछि जनजिवन नै कष्टकर बनेको छ । बजारबाट खाद्यान्न लगायतका सामान ढुवानी गरी गाउँमा पु¥याउन समेत सकस भएको धवलागिरी गाउँपालिका–४ का वडा सदस्य समेत रहनुभएका स्थानीय अगुवा हरीप्रसाद तिलिजाले बताउनुभयो । ‘‘हामीले दिनहुँजसो पहिरोग्रस्त ठाउँमा मर्मत गरी जोखिम मोलेर वारपार गर्दै आएका छौँ, बालबालिका, महिला र ज्येष्ठ नागरिकहरु आवत जावत गर्न मुस्किल छ’’– उहाँले भन्नुभयो ।
जेल्टुङ र बगर गाउँमा करिब ७० घरधुरीको बसोबास रहेको छ । सहरी क्षेत्रबाट चाडपर्व मनाउन गाउँ फर्कनेहरु समेत गाउँ पुग्ने बाटो जोखिमपूर्ण बनेपछि समस्या भएको छ । चक्रिय धौलागिरी पदमार्गले समेटिएको बाटो पहिरोले अबरुद्ध बनेपछि पर्यटकहरु समेत समस्यामा परेका छन् । शरदयामको लागि हिमाल आरोहण र चक्रिय धौलागिरी पदयात्राका लागि आउन लागेका पर्यटकहरुले यो बाटोको बिकल्पका रुपमा मार्फा हुँदै आधार शिविर पुग्ने र हेलिकप्टर मार्फत जान सुरु गरेका छन् ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l