ज्ञानोदय माविको ६१ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस मनाईयो
- ४ आश्विन २०८२, शनिबार
- 281 पटक पढिएको
म्याग्दी, ४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ मौवाफाँटमा अवस्थित ज्ञानोदय माध्यमिक विद्यालयको ६१ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाईएको छ । विद्यालयमा आयोजित समारोहमा चन्दादाता, उत्कृष्ट शिक्षक, विद्यार्थी र अभिभावकलाई सम्मान सहित साँस्कृतिक कार्यक्रम गरी बार्षिकोत्सव मनाईएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिक्षाको सुधारले समाजको रुपमान्तरण हुने बताउनुभयो । उहाँले गाउँपालिकाले आफ्नो क्षमताले भ्याएसम्म पालिकाभित्रको शिक्षाको गुणस्तर सुधार र पूर्वाधार निर्माणमा सघाउँदै आएको बताउँदै उहाँले विद्यार्थी, शिक्षक, अभिभावक र सरकारको सकरात्मक प्रयासले मात्रै शिक्षा क्षेत्रमा सुधार हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा रघुगंगा गाउँपालिका– ३ का वडा अध्यक्ष खिमबहादुर शाही, विद्यालयका सल्लाहकार बालकृष्ण सुवेदी, म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायण प्रसाद सुवेदीले गाउँपालिकाको केन्द्रमा रहेको यस विद्यालयलाई उत्कृष्ट बनाउनका लागि सरोकारवालाहरुको साझा योजना बन्नुपर्ने बताउँदै विद्यालयले गुणस्तरीय शिक्षामा हाँसिल गरेका उपलब्धीहरुको प्रसंसा गर्नुभएको थियो ।

कार्यक्रममा रघुगंगा माविका प्रअ रमेशसिंह ठकुरी, मुक्तिधाम माविका प्रअ अमरबहादुर केसी, सहयोगदाता एवं सेवानिवृत्त शिक्षक रामप्रसाद सुवेदी, शिक्षक अभिभावक संघका अध्यक्ष सुमित्रा शर्मालगायतले मन्तव्य राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सुवेदीको अध्यक्षता सदस्य कमला केसीको स्वागत रहेको कार्यक्रममा विद्यालयका प्रधानध्यापक विजय शर्माले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने शिक्षक अर्जुन पौडेलले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा सर्वोकृष्ट शिक्षकको रुपमा अर्जुन पौडेल, तह र विद्यागत रुपमा रुपमा उर्मिला रेग्मी खत्री, रुक्मिणी सुवेदी, संगीता सुवेदी, सिमा जिसी र स्रोतकक्षाका आया पशुपति खत्रीलाई सम्मान गरिएको थियो । त्यसैगरी विद्यालयको बार्षिक परिक्षा २०८१ मा कक्षागत रुपमा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थी, सरसफाई र अनुशासनमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत सहित विद्यालयलाई र्आिर्थक र भौतिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।
