वेपत्ता युवामध्ये हरी रिजालको शव कालीगण्डकी नदिमा फेला

  • २० भाद्र २०८२, शुक्रबार
  • 1185 पटक पढिएको

म्याग्दी  २० भदौ ।म्याग्दी सदरमुकाम बेनीमा गत शनिवार रातीदेखि सम्पर्क विहिन बनेका दुई युवामध्ये एक जनाको शव फेला परेको छ । जिल्ला सदरमुकाम बेनी स्थित कालीगण्डकी किनारमा निर्माण भएको चक्रपथमा दुर्घटनामा परेर वेपत्ता भएका बेनी नगरपालिका– ६ जामुनाखर्कका हरिप्रसाद शर्मा (रिजाल) को शव फेला परेको हो ।
बागलुङ नगरपालिका–१ मालढुङ्गा स्थित कालीगण्डकीको किनारमा आज विहान रिजालको शब फेला परेको र हुलीयाको आधारमा घरपरिवारले सनाखत गरेपछि शव परीक्षण गरेर अन्तिम संस्कारका लागि जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरिक्षक सुनिल शर्मा शिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार, आज विहान नदि किनारमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेपछि स्थानीयले बागलुङ प्रहरीलाई खवर गरेका थिए । बागलुङ प्रहरीले जिल्ला प्रहरी कार्यालय म्याग्दीसंग समन्वय गरी वेपत्ता भएका युवाका आफन्तबाट सनाखत गराइएको थियो ।

रिजालसंगै वेपत्ता भएका म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीका कुमार रिजालको अवस्था भने अझै अज्ञात रहेको छ । बेनीको बैँकरोड स्थित एक होटलमा संगै खाना खाएर एउटै मोटरसाइकलमा शवार रिजालद्धय कालीगण्डकी नदीको चक्रपथतर्फ मोडिएको र उक्त समयमा चक्रपथबाट मोटरसाइकल कालीगण्डकी नदिमा खसेको दृष्य सिसी टिभिमा कैद भएको थियो । दुर्घटना भएको भएको सडकछेउमा एउटा जुता र हेलमेटको भाइजर फेला परेको थियो भने बेनी नगरपालिका–१ थाङ्नेबगर स्थित कालीगण्डकी नदी किनारमा उनीहरु सबार पल्सर १५० सिसी मोटरसाइकलको फ्युल ट्यांकी फेला परेको थियो । वेपत्ता भएकाहरुको नेपाल प्रहरी र आफन्तजनसंगै सशस्त्र प्रहरी बलको गोताखोर टोलीले लगातार खोजी गरेका थिए ।
यसैबिच एउटै मोटरसाइकलमा शवार भइ कालीगण्डकीमा दुर्घटनामा परेर वेपत्ता भएका कुमार रिजालका आफन्तले शुक्रवार कुशको शब बनाएर अन्तिम संस्कार गरेका छन् । कुमारको अवस्था पत्ता लाग्न नसकेपनि घटना घटेको तत्कालिन समयमा उपलब्ध सिसी क्यामेराहरुका दृष्यमा उनीहरु एउटै मोटरसाइकलमा सबार रहेको देखिएको र अर्का युवाको शब भेटिएपछि काजकिरियाजन्य धार्मिक संस्कारको लागि कुशको शव मनाएर अन्तिम संस्कार गरिएको परिवारजनयले जनाएका छन् ।