पुलहाश्रममा धार्मिक पर्यटन पूर्वाधार थपिदै :‘रावण पार्क निर्माण अन्तिम चरणमा’ (फाेटाे फिचर)

  • २ भाद्र २०८२, सोमबार
  • कमल खत्री
  • 43 पटक पढिएको

म्याग्दी , २ भदौ । ऋषिहरुले तपस्या गरेको पवित्र तिर्थस्थलको रुपमा परिचित म्याग्दीको पुलस्त्य पुलहाश्रम क्षेत्रमा धार्मिक पर्यटन पूर्वाधार थपिँदै गएको छ । बेनी नगरपालिका–५ पछैमा अवस्थित पुलहाश्रममा रहेको मन्दिर परिसरमा प्रतिक्षालय, प्रवेशद्धार, पदमार्ग, घेरावार लगायतका पूर्वाधार निर्माण भएका छन् । पौराणिक ऋषि पुलत्स्य र पुलह ऋषिले तपस्या गरेको पवित्र तपोभूमि भएकाले यस क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि पर्यटन पूर्वाधार निर्माणलाई जोड दिईएको छ । श्रीमद्भागवत महापुराणको पञ्चमस्कन्ध आठौँ अध्यायमा यस क्षेत्रमा पुलस्त्य र पुलह ऋषिले तपस्या गरेको उल्लेख छ ।
पछैमा रहेको हवनकुण्डमा हवन गरेर शेष रहेको चरु अझै पाइने भएकाले पुलस्त्य र पुलह ऋषिले पहिलो पटक होम गरेको ऐतिहासिक तपोभूमिको रुपमा यस क्षेत्रको महत्व रहेको पण्डित भिमनाथ पराजुलीले बताउनुभयो । पुलहाश्रमसंगै यस क्षेत्रमा अन्य ओझेलमा परेका र पत्ता लगाउन नसकिएका थुप्रै तीर्थस्थलहरु रहेकाले यसको अन्वेषण गरी महत्व र महिमालाई बाहिर ल्याउनुपर्ने उहाँको भनाई रहेको छ ।
पछैमा रहेको हवन कुण्डमा रहेको चरुलाई हावाले नष्ट नगरोस भन्ने उदेश्यले ऋषिहरुले विशाल शिलाले त्यसलाई सुरक्षित गरेको किम्बदन्ती रहेको पुलस्त्य पुलहाश्रम क्षेत्र विकास समितिका उपाध्यक्ष तेजप्रकाश बानियाँले बताउनुभयो । उहाँका अनुसार, धार्मिक, ऐतिहासिक महत्व बोकेको र प्राकृतिक रुपमा मनोरम ठाउँ भएकाले यस क्षेत्रमा पूर्वाधार निर्माण र प्रचार प्रसारमार्फत पर्यटन विकासमा जोड दिईएको छ । ऐतिहासिक महत्व बोकेको पुलहाश्रम क्षेत्रको धार्मिक पर्यटन विकासका लागि पूर्वाधार निर्माणले तीब्रता पाएको छ । पछिल्लो पटक पछैमा मन्दिर पुननिर्माण पश्चात प्रवेशद्धार, मौलिक पदमार्ग, घेरावार, प्रतिक्षालयलगायतका भौतिक संरचना निर्माण गरिएको छ ।
समुन्द्री सतहबाट एक हजार सात सय मिटरको उचाइमा अवस्थित यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नेपालमै पहिलो ‘रावण पार्क’ निर्माण गरिएको छ । पुलहाश्रममा तपस्या गरेका पुलस्त्य ऋषिका नाती रावणको जन्म यसै ठाउँमा भएको किम्बदन्तीको आधारमा बेनी नगरपालिकाले रावणको मुर्ती राखेर पार्क निर्माण गरेको हो । चार रोपनी क्षेत्रफलमा निर्माण भएको पार्क घेराबार, प्रवेशद्धार, पदमार्ग निर्माण र, दुवो रोपेर संरचना तयार गरिएको छ भने ढलोट धातुको २१ फिट अग्लो रावणको मुर्तीमा १० वटा टाउको जोड्ने र मुर्तीमा जनै राख्ने लगायतका काम बाँकी रहेको छ ।
रावणको नाभी गाढेको ढुङ्गा, रावण खेलेको मैदान लगायतका किम्बदन्तीको आधारमा वि.स. २०७८ असोज १७ गते ठेक्का सम्झौता गरी सुरु भएको रावण पार्क निर्माण योजना ठेकेदारको ढिलासुस्ती र अदालतमा मुद्धा परेर अलपत्र बनेको अवस्थामा नगरपालिकाको पहलमा योजनालाई अघि बढाएर अन्तिम चरणमा पुगेको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो । ‘‘ अघिल्लो कार्यकालको कार्यपालिकाले अघि बढाएको रावण पार्क बनाउने योजना अलपत्र परेको थियो, हामीले निर्माण कम्पनीलाई ताकेता गरेर योजनालाई अघि बढाएका थियौँ, अहिले पार्कमा रावणको मुर्ति राख्ने र पूर्वाधार बनाउने काम अन्तिम चरणमा पुगेको छ’’– मेयर केसीले भन्नुभयो ।
प्राकृतिक भ्यू पोइन्टको रुपमा रहेको पुलहाश्रममा निर्माण भएको रावण पार्कले नेपालका साथै दक्षिण भारतीय र श्रीलङ्काका धार्मिक पर्यटकहरुलाई यस क्षेत्रमा भित्र्याउन भूमिका खेल्ने मेयर केसीको भनाई छ । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको ७० प्रतिशत र बेनी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारी रहने गरी रु १ करोड ७६ लाख ७७ हजार ५६३ मा ठेक्का सम्झौता भएको रावण पार्क निर्माण योजनामा नगरपालिकाको तर्फबाट हुनुपर्ने भुक्तानी भएपनि मन्त्रालयको तर्फबाट हुनुपर्ने लागत साझेदारीको रकम भुक्तानी हुन नसकेको नगरपालिकाले जनाएको छ । पार्क निर्माण सम्बन्धी अदालतमा परेको मुद्धामा पार्कमा रावण संगै राम र सीताको समेत मुर्ति राख्न निर्देशनात्मक आदेश भएकाले नगरपालिकाले रावण पार्कको योजना सम्पन्न भएपछि राम र सीताको मुर्तीसमेत पार्कमा राख्ने जनाएको छ ।
सदरमुकाम बेनीदेखि पुलाचौर सम्मको सडक कालोपत्रे भैरहेको र पुलाचौरको चनौटेदेखि पुलहाश्रम सम्मको सडकलाई स्तरोन्नती गरी पर्यटकहरुको आगमनलाई सहज बनाउने पहल थालिएको बेनी नगरपालिका– ५ का वडा अध्यक्ष गोविन्द बानियाँले बताउनुभयो । प्राकृतिक रुपमा मनोरम रहेको, धार्मिक र पौराणीक महत्व बोकेको यस क्षेत्रको महत्व, महिमा र सुन्दरताको प्रचार प्रसार गर्न सकेमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।
पुलहाश्रम क्षेत्रबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ«े, निलगिरीलगायत मनोरम हिमश्रृखलाहरुका साथै चर्चित धार्मिकस्थल पञ्चकोट, ज्यामरुकोट, बेनीबजार संगै कालीगण्डकी नदी र आसपासका दर्जनौँ गाउँ बस्तीहरुको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । सदरमुकाम बेनीदेखि करिब २ घण्टाको पैदल यात्रा तथा ३० मिनेटको सवारी यात्रामा पुहलाश्रम सजिलै पुग्न सकिन्छ । रासस           

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l