गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित
- ३२ श्रावण २०८२, शनिबार
- कमल खत्री
- 1 पटक पढिएको
म्याग्दी , ३१ साउन । म्याग्दीको बेनी नगरपालिका– ५ गाजने गाउँमा परीक्षणको रुपमा गरिएको स्याउ खेतीले उत्पादन दिन थालेपछि कृषकहरु उत्साहित बनेका छन् । समुद्री सतहदेखि २ हजार ५० मिटर उचाईमा रहेको गाजनेमा चार बर्षअघि स्थानीयले परिक्षणको रुपमा स्याउका विरुवा रोपेका थिए । २४ घरधुरीको बसोबास रहेको गाजने गाउँमा रोपेका १ सय वटा स्याउका बोटहरुमध्ये अधिकाँशले फल दिन सुरु गरेको स्थानीय निलकण्ठ शर्माले बताउनुभयो ।
‘‘गाउँमा अधिकाँशले पाँचदेखि १५ बोटसम्म स्याउका विरुवा लगाएका थियौँ, विरुवा रोपको चार बर्षदेखि नै बोटमा फल लागेको छ, हामीले परीक्षणको रुपमा सुरु गरेको स्याउ खेती सफल भएको छ, अब गाउँभर यसलाई व्यावसायिक रुपमा विस्तारमा लाग्छौँ’’– शर्माले भन्नुभयो । मुस्ताङबाट गोल्डेन र रेड डेलिसियस प्रजातिको स्याउका विरुवा ल्याएर लगाईएकोमा अधिकाँश बोटले उत्पादन दिन सुरु गरिसकेका छन् ।
गाउँमा काम गर्ने जनशक्तिको अभाबले खेतीयोग्य जमिन बाँझिने समस्या बढीरहेको समयमा नगदे बालीको रुपमा स्याउ खेतीलाई व्यावसायिक रुपमा विस्तार गर्ने स्थानीयको योजना छ । गाउँमा स्याउ खेतीको परिक्षण सफल भएकाले अन्नबालीको विकल्पको रुपमा स्याउ खेतीलाई विस्तार गर्ने तयारी गरेको स्थानीय कृषक गंगादक्त पौडेलले बताउनुभयो । ‘‘ पाँच वटा स्याउको बोट लगाएको थिएँ, विरुवा हुर्किदै जाँदा उत्पादन दिन सुरु गरिसकेको छ, फलेको स्याउ स्वादिलो र रसिलो छ, यो बर्ष तीन रोपनी जग्गामा स्याउलाई विस्तार गर्ने योजना बनाएको छु’’– पौडेलले भन्नुभयो ।
गाजने गाउँमा यस अघि वि.स. २०४२ सालमा समेत स्याउ खेती गरिएको थियो । सार्वजनिक पाखोमा सामुहिक रुपमा गरिएको स्याउ खेती तत्कालिन समयमा मलजल र स्याहारको अभाबले मासिएको थियो । चिसो हावापानी रहेकाले यस क्षेत्रमा स्याउ खेतीको सम्भावना रहेको छ । अन्नबाली लगाउनका लागि श्रमशक्तिमा लगानी धेरै र उत्पादनबाट लाभ कम हुने भएकाले स्याउ खेतीलाई गाजनेका स्थानीयले अन्नबालीको विकल्पमा व्यावसायिक खेतीको रुपमा स्याउ खेती गर्ने तयारी गरेका छन् । म्याग्दीमा यस अघि गुर्जा र राम्चेमा परिक्षणको रुपमा स्याउ खेती गरिएको छ । हिउँदयाममा हिमपात हुने भू–भागमा स्याउ खेती फस्टाउने कृषि प्राविधिकहरु बताउँछन्

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l