छाडेको गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर
- २९ असार २०८२, आईतवार
- कमल खत्री
- 159 पटक पढिएको
म्याग्दी , २९ असार । रोजगारी र अवसरका लागि गाउँ छाड्नेक्रम बढीरहेको छ । तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ राम्चे काफलडाँडाका कुमार पुर्जा भने गाउँ छाडेको तीन दशकपछि पुनः गाउँ फर्किएर गाउँमै अवसर र आत्मनिर्भरताको अभियानमा जुट्नुभएको छ । गाउँबाट बसाई नै सरेर नवलपरासी पुग्नुभएका पुर्जाले आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारमा पटक पटक प्रयास गर्दा समेत सफलता नमिलेपछि उहाँले गाउँ फर्किएर माटोमै पसिना बगाएर आत्मनिर्भर बन्ने योजना बनाउनुभएको थियो ।
गाउँ छाडेको ३५ बर्षसम्म नवलपरासीमा बसेर जीविकोपार्जन गर्नुभएका पुर्जा विगत चार बर्षदेखि भने आफ्नो जन्मगाउँ काफलडाँडा फर्कनुभएको थियो । गाउँ फर्किएर पुर्जाले आधुनिक कृषि खेतीलाई पेसाको रुपमा अघि बढाउनुभएको छ । डेमरकटेरा टोलमा उहाँको तरकारी खेतीको कृषि फर्म रहेको छ । दुई वटा हाइटेक प्रविधि सहितको तीन वटा टनेलमा गोलभेडा खेती गर्नुभएका पूर्जाले कृषि फर्मबाट आम्दानी समेत गर्न सुरु गर्नुभएको छ । टनेलमा स्थानीय स्तरका काठ, निगालो र डोरीको प्रयोग गरी गोलभेडा खेती गरिएको छ ।
एउटा टनेलबाट बार्षिक ४ लाख बढीको कृषि उपज उत्पादन गर्ने लक्ष्य राख्नुभएका पूर्जाले गोलभेडा खेतीबाट भएको आम्दानीले आफु सन्तुष्ट रहेको बताउनुभयो । ‘‘मैले उत्पादन गरेको गोलभेडा स्थानीय स्तरका साथै पर्वत बेनी र जिल्ला सदरमुकाम बेनीमा खपत हुने गरेको छ, स्थानीय प्रविधिलाई प्रयोग गरेर गोलभेडा उत्पादन गर्ने गरेको छु, गाइभैँसी र कुखुराको मल प्रयोग गरेको छु, रोग कीरा लागेमा गाइभैँसीको गहुत र तितेपातीको झोल प्रयोग गर्छु, विषादीको प्रयोग गरेको छैन’’– उहाँले भन्नुभयो ।
कुमार पुर्जा कृषि तथा पशुपंक्षी फर्म दर्ता गर्नुभएका पुर्जाले फर्म स्थापना गर्न अहिलेसम्म करिब रु ६ लाख लगानी गरिसकेको जानकारी दिनुभयो । लामो समयसम्म नवलपरासीमा घर निर्माण सम्वन्धी काम गरी घरपरिवारको जिविकोपार्जन गर्नुभएका पुर्जाले रोजगारको शिलसिलामा कतारमा २० महिना बसेर फर्कनुभएको थियो भने इराकमा दुई पटक सम्म पुगेर फर्कनुपरेको थियो । श्रीमती, छोराबुहारी लगायत परिवार नवलपरासीमै रहेपनि पुर्जा भने जन्मथलो फर्किएर कृषि खेतीमा रमाउन र कमाउन थाल्नुभएको छ ।
जीवनमा धेरै दुःख, कष्ट र हण्डर खेप्नुभएका पुर्जाले बाउबाजेको थातथलोमा पसिना बगाएर आत्मनिर्भर बन्ने सपना बुन्नुभएको छ । विहान देखि बेलुकीसम्म आफ्नै कृषि फर्ममा व्यस्त हुने पुर्जाले अन्य व्यक्तिहरुलाई समेत अस्थायी रुपमा रोजगारि दिने गर्नुभएको छ । गोलभेडा खेतीसंगै पुर्जाले काफलडाँडामा परिक्षणको रुपमा स्याउ खेती विस्तार गर्नुभएको छ ।
करिब ५ रोपनी जग्गामा कृषि खेती गर्दै आउनुभएका पूर्जाले ७० वटा स्याउका विरुवा लगाउनुभएको छ । यस अघि लगाएका बोटले फल दिएपछि व्यवसायिक रुपमा स्याउको खेती विस्तारमा जुटेको उहाँले बतानउनुभयो । कृषिलाई व्यवसायिक र व्यवस्थित गर्न पुर्जाले कृषि फर्ममा थोपा सिंचाईको प्रवन्ध गरिएको छ । गत चैत महिनामा लगाएको गोलभेडा फल्न थालिसकेको छ । तीन वटा टनेलमा पुर्जाले करिब एक हजार पाँच सय गोलभेडाका बिरुवा लगाउनुभएको छ ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l