केरा खेतीबाट समृद्धिको बाटोमा काउलेगौँडा : ‘पकेट क्षेत्र विस्तारले कृषक उत्साहित’
- १५ असार २०८२, आईतवार
- 185 पटक पढिएको
कमल खत्री
म्याग्दी , १५ असार । बेनी नगरपालिका– ९ घतान काउलेगौँडाका ४० बर्षिय युवा प्रकाश खत्री केरा खेतीबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ । वैदेशिक रोजागरका सिलसिलामा दुबैमा तीन बर्ष काम गरेर फर्कनुभएका खत्री गाउँमै रहेको खेतबारी र पाखा पखेरामा केरा खेती गरेर आकर्षक आम्दानी गर्न सफल हुनुभएको हो । सुरुमा तीन रोपनीमा केरा खेती गर्नुभएका खत्रीले लगाएका बोटले आम्दानी दिन थालेपछि केराको व्यावसायिक खेतीमा लाग्नुभएको थियो ।
‘‘अहिले मेरो सबै जग्गा जमिनमा केरा खेती छ, करिब २५ रोपनीमा केरा खेती विस्तार गरेको छु, बार्षिक रुपमा १० देखि १५ लाख केराबाट आम्दानी हुन्छ, नयाँ बोटले उत्पादन दिन थाल्यो भने आम्दानी पनि बढ्ने अनुमान गरेको छु’’– खत्रीले भन्नुभयो । परम्परागत रुपमा धान रोप्ने खेत र मकै, कोदोलगायतका अन्नबाली लगाउने बारीमा खत्रीको परिवारले व्यावसायिक केरा खेती लगाउनुभएको छ ।
केरा खेतीको लागि आबश्यक पर्ने मलका लागि कुखुरापालन समेत गर्नुभएका खत्रीले परम्परागत खेती बालीलाई व्यावसायिक बनाउने र परिश्रम गर्न सकेमा स्वदेशमै पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ । उहाँको चार वटा केरा खेतीको बगान छन् । काउलेगौँडामा विगत १ दशकयता केरा खेतीको लहर चलेको हो । यहाँका करिब १५० घरधुरी सबैले केरा खेती गरेका छन् । काउलेगौँडाको थाकन, गौउथले, मुलवारी, पाटारुख, बराहथान तुसारे लगायतका क्षेत्रमा केराखेतीको व्यावसायिकता बढेको छ ।
यस गाउँमा रुद्र चोखाल, दिपक खड्का, ओमकार पुरी, सोम केसी, भगवती बस्नेत, रुद्रबहादुर बस्नेत लगायतले केराको व्यावसायिक खेती गर्नुभएको छ । काउलेगौँडाका विभिन्न टोल बस्तीमा करिब चार सय रोपनीमा केरा खेती विस्तार भएको काउलेगौँडा कृषि समूहका अध्यक्ष पुन्य चोखालले जानकारी दिनुभयो । अध्यक्ष बस्नेतले समेत साढे ५ रोपनी बढी जग्गामा केरा खेती गर्नुभएको छ । उहाँका अनुसार, चालु आर्थिक बर्ष २०८१/०८२ मा बेनी नगरपालिकाको केरा पकेट क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत काउलेगौँडामा १२० रोपनी जग्गामा तीन हजार पाँच सय हजारी जातको नयाँ विरुवा लगाईएको छ ।
२५ जना कृषक आबद्ध काउलेगौँडा कृषक समूहले बेनी नगरपालिकाको रु १२ लाख अनुदान र कृषकको रु १२ लाख बराबरको साझेदारीमा १२० रोपनी जग्गामा केरा खेती विस्तार गरिएको छ । २ वटा माटे पोखरी र १ वटा ढलान गरेको पक्कि सिंचाई पोखरी निर्माण गरी स्थानीय स्तरमा रहेका मुलको पानीलाई जम्मा गरेर ३ हजार पाँच सय मिटर पाईपलाइन विस्तार गरेर केरा खेती भएको ठाउँमा सिंचाईको समेत बन्दोबस्त मिलाईएको समूहका अध्यक्ष चोखालले बताउनुभयो । पकेट क्षेत्र विस्तार कार्यक्रम अन्तगर्त भ¥याङ, सिकेचरलगायतका कृषि औजार र उपकरणहरु समेत खरिद गरी वितरण गरिएको छ । यहाँ हजारी, धुर्से र मुर्रे जातका केरा खेती हुँदै आएको छ ।
काउलेडौँडा क्षेत्रमा अहिले स्थानीय पानीका मुलहरुलाई जम्मा गरेर केरा खेतीमा सिंचाइको प्रवन्ध मिलाउँदै आइएको छ । व्यावासायिक रुपमा खेती विस्तार भैरहेकाले निकट भविश्यमा हिउँदयाममा केरालाई सिंचाईको अभाब हुने भएकाले रघुगंगा र कालीगण्डकी नदीबाट लिफ्ट प्रविधिको सिंचाई आयोजनाको लागि माग गरिएको कृषक समूहका अध्यक्ष चोखालले जानकारी दिनुभयो ।
अन्नबाली छाडेर केराको व्यावसायिक खेती
युवायुवति वैदेशिक रोजगारको कारण विदेश जाने र गाउँघरमा अन्नबालीको खेती लगाउन काम गर्ने जनशक्ति पाइन छाडेपछि स्थानीयले केरा खेती सुरु गरेका थिए । खेत वारीलाई बाँझो रहन नदिनका लागि सुरु भएको केरा खेती अहिले गाउँको आम्दानीको प्रमुख स्रोत बनेको छ । गाउँमा अधिकाँशले खेतीयोग्य जमिनका साथै पाखो बारीमा समेत केरा खेती लगाएको स्थानीय कुल बहादुर बस्नेतले बताउनुभयो ।
‘‘ करिब ८ रोपनी जग्गामा केरा विस्तार गरेको छु, अब विस्तारै केराले उत्पादन दिन थालेको छ, उत्पादन भएको केराको लागि बजारको अभाब छैन, खेती गर्न पनि कठिन छैन’’– बस्नेतले भन्नुभयो । व्यवसायिक रुपमा पशुपालन गरेर दुध विक्रि गर्दै आउनुभएका बस्नेतले गाउँ नजिकै रहेको गलेश्वर बजारमा दुध र खेरा विक्रि हुने गरेको बताउनुभयो । बस्नेतले दुधबाट मासिक १७ हजार र केराबाट मासिक रु १० हजार बराबर आम्दानी हुने गरेको अनुभव सुनाउनुभयो ।
गाउँमा अधिकाँश घरले केरा खेतीबाट नगद आम्दानी गर्न थालिसकेका छन् । परम्परागत खेतीबाट नगद आम्दानी नहुने र श्रम गर्ने जनशक्तिको अभाब हुन थालेपछि अन्नबालीको विकल्पमा यस गाउँमा केरा खेती विस्तारले तिब्रता पाएको थियो । स्थानीय कृषक टेकबहादुर भण्डारीले अन्नबालीको तुलनामा केरा खेतीबाट तेब्बर बढी आम्दानी हुने गरेको अनुभव सुनाउनुभयो ।
करिब ५ बर्षदेखि केरा खेती गर्नुभएका बस्नेतले धान खेती हुने करिब ८ रोपनी खेतमा केरा खेती विस्तार गर्नुभएको छ । ‘‘ अन्नबाली लगाउनु भन्दा केरा खेतीबाट धेरै फाइदा छ, विरुवा लगाएपछि हिउँदयाममा सिंचाई पु¥याउन सकियो भने उत्पादन राम्रो हुन्छ, पहिले अन्नबाली लगाउने स्थानीय अहिले फलफुल खेतीतर्फ आकर्षित भएका छौँ’’– उहाँले भन्नुभयो ।
स्वरोजगार र समृद्धिका लागि पकेट क्षेत्र विस्तार
म्याग्दी अहिलेपनि केरामा आत्मनिर्भर बन्न सकेको छैन् । बेनी नगरपालिका– २ खबरा, बगरफाँट, वडा नम्बर ९ को काउलेगौँडा केरा खेतीको पकेट क्षेत्र मानिन्छ । नगरपालिकाले सम्भावित खेतीको व्यावसायिकता बढाउन र कृषकलाई स्वरोजगार, जिल्लालाई आत्मनिर्भर गाउँलाई समृद्धिको बाटोमा अघि बढाउन पकेट क्षेत्र विस्तारलाई जोड दिएको छ ।
चालु आर्थिक बर्षमा वडा नम्बर ३ भकिम्लीलाई विकी र वडा नम्बर ९ घतानको काउलेगौँडालाई केरा पकेट विस्तार कार्यक्रम सञ्चालन गरी कृषकहरुलाई प्रोत्साहन गरिएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार, नगरपालिका र कृषक समूहको १२÷१२ लाखको साझेदारीमा सञ्चालन गरिएको केरा पकेट क्षेत्र विस्तार कार्यक्रमबाट कम्तीमा ६० प्रतिशत रकम केराको क्षेत्र विस्तारमा लगानी भएको छ ।
बेनी नगरपालिका– ९ घतानका वडा अध्यक्ष चक्रबहादुर केसीले निर्वाहमुखी खेती किसानीबाट काउलेगौँडाका कृषकहरु केरा खेतीको व्यावसायिकतामा लागेको बताउनुभयो । स्थानीयले खेतवारी बाँझो रहन नदिनका लागि सुरु गरेको केरा खेती सफल भएपछि अहिले अभियानकै रुपमा केरा खेती विस्तारले तिब्रता पाएको र यसले यहाँका स्थानीयको आर्थिक जीवनस्तर सुधारमा समेत सघाउन थालेको वडा अध्यक्ष केसीले जानकारी दिनुभयो । यहाँ उत्पादन भएको केरा अहिले गलेश्वर बजार र सदरमुकाम बेनीमा खपत हुँदै आएको छ । बजार खोज्न नपर्ने र व्यापारीहरु केरा खरिदका लागि गाउँमै पुग्ने भएकाले केरा खेतीमा आकर्षण बढेको छ । बोट लगाएको दुई बर्षभित्र नै उत्पादन दिन सुरु गर्ने र एउटा बोटबाट दर्जनौँ घारीको रुपमा विस्तार हुने तथा अन्य फलफुलको तुलनामा गोडमेल र मलजलमा समेत झण्झट कम हुने भएकाले केरा खेती कृषकहरुको रोजाइमा पर्न थालेको छ । म्याग्दीमा अहिलेपनि बाहिरबाट केरा आयात हुने भएकाले केरा खेतीको पकेट विस्तारले जिल्लालाई केरा उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।