होटल सुविधाले अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

  • १० असार २०८२, मंगलवार
  • कमल खत्री
  • 23 पटक पढिएको

म्याग्दी  १० असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकको सख्ंया बढेको छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमालको नामले चिनिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय चहलपहल बढाएको हो ।  
नेपालको पर्वतारोहण इतिहासमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो । हिमाल आरोहण भएको ७५ बर्ष पूरा हुँदा समेत अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्ग गुमनाम भएपछि नारच्याङबासीहरुको अग्रसरतामा यो पदमार्गको पहिचान र प्रवद्र्धन अभियान थालिएको छ ।
अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयले समेत पदमार्ग क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनको लागि अभियान नै सञ्चालन गर्न थालेका छन् । पदमार्गको पहिचान गरि पदमार्ग, आश्रयस्थल, टिसप, होटल लगायतका पूर्वाधार बनेर प्रचार प्रसार हुन थालेपछि अहिले यस पदमार्गमा पर्यटकको आगमन बढेको पदमार्गका अभियन्ता एवं पर्यटन व्यवसायि तेज गुरुङले बताउनुभयो । उहाँका अनुसार, गत बर्ष मात्रै अन्नपूर्ण प्रथम आधार शिविरमा नेपाली र विदेशी गरी करिब १० हजार पर्यटकहरुले भ्रमण गरेका थिए ।
‘‘यस बर्ष समेत पर्यटकहरु आउने क्रम बढ्दो छ, हिमाल चढ्न आउने पर्यटकहरू विगतका बर्षमा सबैजसो हेलिकोप्टरबाट आधार शिविर पुग्ने गर्थे, यस बर्षभने धेरै जसो आरोही पदमार्ग हुँदै आधार शिविर पुगे, अन्नपूर्ण हीरक महोत्सव आधार शिविरमै मनाइएकाले पनि यस क्षेत्रको व्यापक प्रचार प्रसार भएको अनुभूति गरेका छौँ’’– गुरुङले भन्नुभयो । अन्नपूर्ण आधार शिविरसम्म पुग्ने यस पदमार्ग अन्तर्गत हुमखोला, सन्धीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्ड ताल परिसरमा होटल र फुतफुते झरना परिसरमा टिसप सञ्चालनमा आएको छ ।
यहाँका होटलमा ४० देखि ८० जनासम्म सजिलै खाना र बास बस्न मिल्ने अस्थायी प्रकृतिको बासस्थान बनेपछि आन्तरिक पर्यटक धेरै आउन थालेका छन् । यही सिजनमा मात्र ६ हजार हाराहारी आन्तरिक पर्यटक आएका छन्। विगतका बर्षमा खाना र बस्नको लागि आफै बन्दोबस्तीको सामान बोकेर जानुपर्ने बाध्यता होटलहरु सञ्चालनमा आएसंगै हटेको सन्धीखर्कमा होटल सञ्चालन गरेका माइकल परियारले बताउनुभयो ।
दुई दिनको यात्रामा पुग्न सकिने यस पदमार्ग अन्तरगत पोखरेबगरदेखि हुमखोला सम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि १६ किलोमिटर दूरीमा पदमार्ग बनाइएको छ । हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पूग्न भने सबैभन्दा सहज बनेपछि अहिले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दो छ ।
पदमार्गको प्रवेशविन्दु नारच्याङ गाउँमा होमस्टेको सुविधा छ भने त्यहाँदेखि माथि हरेक २÷२ घण्टामा होटलको सुविधा पुगेपछि पर्यटकहरुका लागि खाना र बसोबासको समस्या हटेको छ । पर्यटकहरुको समस्या र सास्ती घटाउन र स्थानीयबासी पर्यटन व्यवसाय मार्फत आयआर्जनमा जोडिने उदेश्यले सामूहिक रुपमा लगानी गरेर टोल सञ्चालन गरीएको आधार शिविरमा पञ्चकुण्ड ताल परिसरमा होटल सञ्चालन गर्नुभएका अजित सेञ्चुरीले बताउनुभयो । पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न अभियान सार्थक बन्दै गएको छ । हिमालको खाकैमा रहेको विशाल पञ्चकुण्ड ताल, दर्जनौँ झरना र रमणीय हिमाली भू वनोट यस पदमार्गका मुख्य आकर्षण हुन् । पर्यटकीय सम्भावना भएर पनि ओझेलामा परेको अन्नपूर्ण प्रथम आधार शिविर र मौरिस हर्जोग पदमार्गको प्रचार प्रसार, पूर्वाधार निर्माण र होटल सुविधाको कारण पछिल्लो समय यो क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ भने स्थानीयबासी उत्साहित बनेका छन् ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l