धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित, गुर्जामा सडक पुर्याउने, युवालाई सहुलियत ऋण दिने

  • १० असार २०८२, मंगलवार
  • 81 पटक पढिएको

९ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ४६ करोड ५६ लाख छ हजार पाँच सय ६३ को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सोमबार सम्पन्न २४ औ सभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट छलफलपछि सर्वसहमतिमा पारित भएको हो । चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने रु. दुई करोड र रु. ४५ लाख आन्तरिक आम्दानी बाहेक संघीय र प्रदेश सरकारले विभिन्न शिर्षकमा उपलब्ध गराउने अनुदानलाई स्रोत मानेर बजेट सार्वजनिक भएको छ ।

धवलागिरीले चालु आर्थिक वर्षमा रु. ४७ करोड ६४ लाख ५८ हजार बिनियोजन गरेकोमा हालसम्म रु. ४२ करोड ८० लाख ४८ हजार पाँच सय सात दशमलब पाँच मात्र आम्दानी भएको छ । चालुतर्फ हालसम्म ६२ दशमलब १७ र पुजिगततर्फ रु. १४ करोड ५७ लाख ८१ हजार बिनियोजन भएकोमा रु. सात करोड ५१ लख ९८ हजार खर्च भएको सभामा जानकारी गराइएको थियो । गुर्जामा सडक पु¥याउने लुलाङ–गुर्जा सडकलाई संघीय समपुरक अनुदान सहित रु. एक करोड ७५ लाख बिनियोजन भएको छ । लुलाङ देखि देउराली हुदै वनथान सम्म पुगेको सडक गुर्जा जोडिन करिब पाँच किलोमिटर मार्ग खोल्न बाँकी छ । चालु आर्थिक वर्षमा बिनियोजित रु. ७० लाख बजेटबाट लत्रवाङ देखि वनथान सम्म छ किलोमिटर तीन सय मिटर सडकको ट्याक खुलेको छ । अल्पसंख्यक छन्त्याल र दलित समुदायको दुई सय ५० घरपरिवारको बसोबास रहेको गुर्जा हालसम्म सडक नपुगेको म्याग्दीको एकमात्र वडा हो । पछिल्लो तीन वर्षयता धवलागिरीले गुर्जा जोड्ने सडकको मार्ग खोल्ने कार्यलाई प्राथमिकता दिएको छ । घट्टेखोलामा निर्माणाधिन गाउँपालिकाको प्रशासकीय भवनलाई पूर्णता दिन रु. एक करोड बजेट बिनियोजन भएको छ । संघीय सरकारको विशेष अनुदानमा मुनामा ढल निकास योजनाका लागि रु. ६९ लाख बिनियोजन भएको छ । वडा नं–५ मल्कवाङ देखि भेडिखाल्टा जोड्ने सडक निर्माणका लागि रु. तीस लाख बिनियोजन भएको छ । भेडिखाल्टामा पनि हालसम्म सडक पुगेको छैन् । गाउँपालिकाको केन्द्र मुना देखि दर हुदै वडा नम्बर ४ मुदी जोड्ने सडकको दरखोलामा संघीय र प्रदेश सरकारसँगको साझेदारीमा बेलिब्रिज जडान गर्न रु. १५ लाख बिनियोजन भएको छ ।

खाम्ला–खिवाङ सडकको मार्ग खोल्ने कार्यलाई पूर्णता दिन रु. १५ लाख बिनियोजन भएको छ । पहार ट्रससँगको सहकार्यमा हेम माध्यमिक विद्यालयको दश कोठे भवन निर्माणका लागि गाउँपालिकाको तर्फबाट रु. ५० लाख बिनियोजन भएको छ । बाह्ै महिना नियमित यातायात सञ्चालनका लागि सडक मर्मतका लागि रु. एक करोड, ताकम–मुना वैकल्पिक सडक स्तरोन्नतिका लागि प्रदेश समपुरक योजनाको रु. एक करोड र प्रदेश बिशेष अनुदानबाट जनजागृति मावि मल्कवाङको भवन बनाउन रु. ४० लाख बिनियोजन भएको छ । युवालाई सहुलियत ऋण दिर्घरोगीसँग अध्यक्ष, सुनौला हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिएको धवलागिरी गाउँपालिकाले युवालाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन रु. १५ लाख बजेट बिनियोजन भएको छ । देशमै बसेर केही गर्न चाहने बेरोजगार युवाहरुलाई स्वरोजगारतर्फ उन्मुख गराउन सहुलियत ऋण उपलब्ध गराउन बजेट व्यवस्था गरेको उपाध्यक्ष पुनले बताउनुभयो । सिप भएर पनि प्रमाणपत्र नपाएर विभिन्न अवसरबाट बञ्चित युवाहरुलाई मध्यनजर गरेर सिप रिक्षण तथा प्रमाणिकरणको ब्यवस्था मिलाउने गाउँपालिकाले घोषणा गरेको छ । पालिका स्तरीय कवर्डहल बनाउन रु. १५ लाख बिनियोजन गरेको छ । स्थानीय पाठ्यक्रममा आधारित पुस्तक प्रकाशन गर्ने तयारी गरेको धवलागिरीले आर्थिक रुपले विपन्न, अभिभावक विहिन बालबालिका, भौगोलिक हिसाबले पढाईबाट बञ्चित भएका बालबालिकाहरुको शिक्षालाई निरन्तरता दिन हेम मावीले सञ्चालन गरेको आवासीय छात्रावासलाई रु. २० लाख बिनियोजन भएको छ । जलजलामा पर्यटन महोत्सव गरिने ढोरपाटन शिकार आरक्षको सिमानामा रहेको धवलागिरी गाउँपालिका–२ मा रहेको जलजलामा पर्यटन महोत्सव गर्न धवलागिरी गाउँपालिकाले बजेट बिनियोजन गरेको छ । मुना–खोरीया–मरेनी हुदै जलजलासम्म सडकको मार्ग खुलेको छ । करिब तीन हजार मिटर उचाईमा रहेको जलजला हिमशृङखला, सुर्योदय, पहाडी भूगोलको दृष्य अवलोकनका लागि मनोरम स्थल हो । जलजलाको प्रचारप्रसार र पर्यटन प्रर्वद्धनका लागि महोत्सव गर्न रु. ३० लाख बजेट बिनियोजन गरेको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । जलजलामा खानेपानी र शौचालय निर्माणका लागि अर्को शिर्षकमा थप रु. १५ लाख बजेट बिनियोजन भएको छ । सभाले अध्यक्ष पुनले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सहित विभिन्न प्रस्तावहरु पारित गरेको छ । वडा नं. ६ का अध्यक्ष राजाराम सुवेदीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ देखि २०८४/०८५ सम्मको त्रिवर्षिय मध्यकालिन खर्च संरचना, लेखा समिति सदस्य सिता छन्त्यालले पेश गरेको आर्थिक वर्ष २०८०/८१ को नियमित गर्नुपर्ने बेरुजु अनुमोदन, वडा नं.–७ का अध्यक्ष अशोक खत्रीले पेश गरेको २०८१ साउन १ देखि हालसम्म कार्यपालिकाले गरेका निर्णय अनुमोदन गर्ने प्रस्ताव पारित भएको छ । वडा नं. ३ का अध्यक्ष देवेन्द्र रोकाले पेश गरेको चालु आर्थिक वर्षको हालसम्मको खर्च अनुमोदन र वडा नं–१ का अध्यक्ष झकबहादुर छन्त्यालले पेश गरेको बिनियोजन विधेयक पारित भएको छ ।