मुस्ताङका क्रियाशील पत्रकार सुन्दरकुमार थकाली पुरस्कृत
- ८ असार २०८२, आईतवार
- 139 पटक पढिएको
मुस्ताङ, ८, असार । मुस्ताङका क्रियाशील पत्रकार सुन्दरकुमार थकाली सम्मानित भएका छन् । विगत लामो समयदेखि मुस्ताङ जिल्लाको कठिन भूगोलमा निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार थकालीलाई मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आईतबार नगद पुरस्कारसहित सम्मान गरेको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र समग्र मुस्ताङ जिल्लाको ऐतिहाँसिक,धार्मिक, सांस्कृतिक,पर्यटकीय,कृषि लगायतका संभाव्य क्षेत्रहरुको उजागर गर्दै नागरिकहरुमा सूचना संम्प्रेषण तथा मुस्ताङ जिल्लालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन अहोरात्र पु¥याएको योगदानको उच्च प्रशंसा र मूल्यांकन गर्दै वारागुङ मुक्तिक्षेत्र गाउँपालिक कार्यालयले आफ्नो बाईसऔं गाउँसभा अधिवेशनमा नगद दस हजार पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको हो ।
मुस्ताङ जिल्लाको समग्र आर्थिक विकास,सुशासन,समृद्धि र जिल्लाको धार्मिक,सांस्कृतिक,सामाजिक, जैविक विविधता लगायतमा खोज पत्रकारिता र समसामयिक घटनाहरुको सूचना संम्प्रेषण गर्दै विगत बाह्र वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आईरहेका मुस्ताङका पत्रकार थकालीलाई गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको हो । गाउँसभामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङ, उपाध्यक्ष डिकी गुरुङ ,प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी र नेपाल पत्रकार महासंघ मुस्ताङ शाखा अध्यक्ष सुनदेवी रसाईलीले गाउँसभा अधिवेशनका क्रममा संयुक्त रुपमा नगद पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गर्नुभएको हो ।

यसअघि पत्रकार थकालीलाई मुस्ताङको घरपझोङ गाउँपालिकाले पनि दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको थियो । यसअघि मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीले मुस्ताङ जिल्लाको समृद्धि र विकासका लागि कलम चलाए वापत आधा दर्जन पुरस्कारबाट पुरस्कारसहित सम्मानित भईसकेका छन् । पोखराबाट प्रकाशित आदर्श समाज राष्ट्रिय दैनिकबाट सुरुआती पत्रकारिता सुरु गरेका पत्रकार थकाली हाल समाधान राष्ट्रिय दैनिक,अन्नपूर्ण पोस्ट र राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत हुनुहुन्छ । यसअघि पत्रकार थकालीले राजधानी दैनिक,ईमेज टेलिभिजन लगायतमा जिल्ला सम्वाददाताको रुपमा काम गरिसक्नु भएको छ ।