सेवानिवृत्त शिक्षक चिन्तामणी शर्माको विदाई

  • ७ असार २०८२, शनिबार
  • 287 पटक पढिएको

म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्क निवासी ३८ वर्षदेखि शिक्षण पेशामा क्रियाशिल शिक्षक चिन्तामणी शर्मालाई एक कार्यक्रमकाबीच भव्य बिदाई गरिएको छ। आफ्नो शैक्षिक यात्रा पुरा गर्नुभएका शिक्षक शर्मा अनिवार्य अवकास भएपछि विद्यालय तथा स्थानीयले एक कार्यक्रमको आयोजना गरी बिदाई गरेका हुन् । 

२०२२ साल असार ७ गते साविकको अर्थुङ्गे गाविस हाल बेनी नगरपालिका ६ मा जन्मिनु भएका शर्मा अस्थाई शिक्षकका रुपमा २०४५ सालदेखि शिक्षण पेशामा जोडिनुभएको थियो। २०४८ असार सम्म क्रमश पहिलो विधालय मालिका प्रावि ठाडाखानी ,दोस्रो सल्लेरी प्रावि काउलेगौडामा अध्यापन गराई २०४८ असार ३१ मा विद्यामन्दिर प्राबि जामुनाखर्कमा स्थायी नियुक्ति लिए पश्चात निरन्तर ३५ बर्ष समेत ३८ बर्ष शिक्षण गर्नुभएको हो । स्थायी नियुक्तिपछिको करिब २५ वर्ष प्रधानाध्यापक र त्यसपछिको १० वर्ष शिक्षकको रूपमा विद्यामन्दिर आधारभूतको स्थापनाकालदेखि हालसम्म अनवरत रुपमा खटिनभएको थियो । उहाँलाई गाउँ बस्तिमा शिक्षाको ज्योति छरी समग्र विकास गर्न सबैलाइ मार्गदर्शन गर्ने बानी नै बसिसकेको छ। विदाई कार्यक्रममा सहभागी स्थानीयबासीले प्रधान अध्यापकको अतिरिक्त सुविधा नगण्य रहेको अवस्था तथा विद्यालय कर्मचारीको व्यवस्था नरहँदा समेत नियमित पठनपाठनका अलावा स्कुलको भौतिक पूर्वाधार सुधारका लागि कहिले आफै श्रममा खटिने त कहिले सदरमुकाम दखि पाठ्यसामग्रीको भारी बोक्ने, आफ्नो जग्गा धितो नै राखेर भए पनि विद्यालयको लागि ऋण लिएर समेत विधालय सञ्चालन गरेकोमा शिक्षक शर्माको प्रशंसा गरिएको थियो । जिल्ला सदरमुकामबाट नजिक भए पनि बत्ति मुनिको अध्यारो जस्तै रहेको यस गाउँमा आर्थिक अवस्था कमजोर भएका समुदायलाई शिक्षण सेवा मार्फत शिक्षक शर्माले निरन्तर योगदान पुराउनु भएको थियो।

२०४५ साल दखि आफ्नै गाउँमा रहेर लामो समय शिक्षण सेवा गरी सोही विद्यालयबाट शिक्षक शर्माको अनिवार्य अवकास हुँदा विद्यालय तथा समुदायले बृहत कार्यक्रमको आयोजना गरी नगद पुरस्कार तथा कदर पत्र सहित बिदाई गरेका छन। शिक्षक शर्माले आफूले सेवा सुरु गरेको विद्यालयबाटै बिदाई हुन पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिनुभयो। ‘लामो समय यस विद्यालयमा सेवा गर्ने मौका पाए, कतिलाई पढाउँदा अलि चर्को वोलियो होला कतिलाई कोमल बोलियो होला सबै कुरालाई सिकाईको रुपमा लिनुहोला,’ उहाँले भन्नुभयो, ‘विद्यालयमा कार्यरत शिक्षकलाईसमेत आफ्ना नराम्रा कुरा विर्सन आग्रह गुर्छ।’ नैतिकता र इमानदारीताका अनुपम उदाहरण चिन्तामणी शर्माको शिक्षक सेवामा अस्थाई र स्थाई गरी ३८ वर्ष अध्यानपन गराउनु भएको थियो ।