बेनीमा बजार अनुगमन, म्याद नाघेका सामाग्री भेटिए

  • ६ असार २०८२, शुक्रबार
  • 163 पटक पढिएको

म्याग्दी , ६ असार । म्याग्दी सदरमुकाम बेनीमा म्याद नाघेका सामाग्रीको विक्रि वितरण हुने गरेको भेटिएको छ । जिल्ला बजार अनुगमन टोलीले बालमन्दिरदेखि संगमचोक क्षेत्रमा रहेका खाद्यान्न तथा खाजा र स्कुल क्यान्टीनहरुमा गरेको अनुगमनको क्रममा म्याद नाघेका खाद्य सामाग्री विक्रि वितरण गरेको भेटिएको हो । अनुगमनको क्रममा पसलको टाँसी र फ्रिजमा राखीएका सामाग्रीहरुमा नै म्याद नाघेको भेटिएपछि ति सामाग्रीलाई जफत गरी नष्ट गरिएको पर्यटन तथा उद्योग कार्यालयका सन्तोष ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुसार, अनुगमनको क्रममा दर्ता नगरी खाजा पसल सञ्चालन गरेको, क्यान्टिनमा खाजाका सामाग्री बनाउन प्रयोग हुने तेलको गुणस्तर नभएको, सरसफाईलाई ध्यान नदिईएको र म्याद नाघेका चाउमिनबाट बनेका परिकार विक्रि वितरण भएको भेटिएको थियो ।
अनुगमनको क्रममा विक्रिका लागि टाँसीमा राखीएका सुजी, फ्रिजमा राखिएका फु्रटी, कोक, फेन्टा लगायतका पेय पदार्थहरु समेत म्याद नाघेको भेटिएका थिए । अनुगमनको क्रममा रु १० हजार ७९० बराबरको म्याद नाघेका सामाग्री जफत गरी नष्ट गरिएको छ । पहिलो चरणमा कमजोरी भेटिएका पसलहरुलाई कमजोरी सुधार गर्न निर्देशन दिईएको र आगामी दिनमा कमजोरी भेटिए कानुनी कारबाही अघि बढाउने अनुगमनमा सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका सहन्सा मेहताले बताउनुभयो । अनुगमनमा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । अनुगमनका क्रममा केही मसलेदार उत्पादन र प्लाष्टिकमा प्याकेजिङ गरिएका जुसहरु खाद्य अनुज्ञापत्र नलिइकन बजारमा विक्रि वितरण भैरहेको भेटिएकाले सम्बन्धित कम्पनीलाई सचेत गराईएको थियो ।