बेनी नगरपालिकाले खेतवारीमा सञ्चालन गरेको कृषक पाठशाला प्रभाबकारी
- ६ असार २०८२, शुक्रबार
- कमल खत्री
- 47 पटक पढिएको
कमल खत्री
म्याग्दी , ६ असार । म्याग्दीको बेनी नगरपालिका– १ आनन्दबगरका रुद्रबहादुर थापा मगर करेसाबारीमा कुटो, कोदालो र कापी कलम एकैसाथ बोकेर पस्नुहुन्छ । सामान्यतया खेतवारीमा घरेलु औजार बोकेर काम गर्न जाने प्रचलन रहेपनि थापा भने कृषि खेतीको सिकाईका लागि घरेलु कृषि औजार संगै सिकेका कुरा टिपोट गर्न कापी कलम बोकेर खेतवारीमा पुग्न थाल्नुभएको हो ।
गत पुस देखि आनन्दबगरका २५ जनाले थापाले जस्तै गरी कृषि पढीरहेका छन् । बेनी नगरपालिकाले कृषकहरुलाई प्राङ्गारिक उत्पादनको ज्ञान, सीप र क्षमताको विकास गर्न एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरेपछि यहाँका कृषकहरु साप्ताहिक रुपमा खेतवारीमा सञ्चाल हुने पाठशालामा पढ्न पुग्छन् । आनन्दबगर आइपिएपम कृषक पाठशालामा आबद्ध सदस्यहरुले सामुहिक रुपमा गोलभेडा खेती समेत गरेका छन् । व्यवहारिक रुपमा उचित बिउको छनौट, नर्सरी र खेती गर्ने जमिनको व्यवस्थापन, बाली लगाउने तरिका, मलजल, गोडमेल र फल उत्पादन भएपछि टिप्ने सम्मका ज्ञान, सीपहरु पाठशालामा सिकाउने गरिएको छ । पाठशालामा बिउ जमाउने र विरुवा लगाउनेदेखि फल टिप्ने सम्मका ज्ञानका साथै रोगकिराको स्थानीय उपचारको बारेमा सैद्धान्तिक र व्यवहारिक ज्ञान सिक्ने अवसर मिलेको स्थानीय कृषक सरिता बानियाँ खड्काले बताउनुभयो ।
‘‘ खेती गर्ने आधारभूत सीप सिक्नका लागि आइपिएम कृषक पाठशाला निकै प्रभाबकारी भयो, रोग कीराको पहिचान र उपचारको तरिका र उपाएहरुसमेत सिक्यौँ’–बानियाँले भन्नुभयो । यहाँका कृषकहरुलाई टनेल र खुला ठाउँमा गोलभेडा खेती गर्नका लागि व्यवहारिक रुपमा तालिम दिईएको छ । पुसदेखि सुरु भएको पाठशालामा कृषकहरुले सामूहिक रुपमा लगाएको गोलभेडा अहिले उपभोग योग्य भएको छ । उत्पादन भएको गोलभेडा पाठशालामा सहभागी कृषकहरुले बाँडेर उपभोग गर्ने र धेरै उत्पादन भएमा विक्रि गर्ने लक्ष्य लिईएको छ ।
बेनी नगरपालिका– ४ डाँडाखेतमा समेत गोलभेडा खेतीमा आइपिएम कृषक पाठशाला सञ्चालन भैरहेको छ । यहाँका कृषकहरुले समेत तालिममा सिक्दै सामूहिक रुपमा लगाएको गोलभेडा अहिले लटरम्म फलेका छन् । खेती गर्ने प्रविधि आधुनिक र रोग किराको उपचार गर्न अर्गानिक विधिबारे जानकारी पाएपछि यहाँका कृषकहरु उत्साहित बनेका छन् । एउटा बालि बिशेषमा कृषकलाई निपूर्ण बनाउन आइपिएम कृषक पाठशाला सञ्चालन गरिएको हो । खेतवारीमा सञ्चालन हुने पाठशालामा कृषकको हातबाट विउ जमाउन तथा विरुवा रोप्न लगाउने र उनीहरुकै हातबाट गोडमेल र स्याहार गरेर फलेको फललाई उपभोग र बजारीकरण सम्मको काम हुने भएकाले यो पाठशाला निकै उपयोगी बन्दै गएको छ ।
बेनी नगरपालिकाले यस बर्ष वडा नम्बर १ आनन्दबगरमा गोलभेडा खेती, वडा नम्बर २ गौश्वारामा काउली, वडा नम्बर ३ भकिम्लीमा अकबरे खुर्सानी खेती, वडा नम्बर ४ डाँडाखेतमा गोलभेडा खेती, वडा नम्बर ६ डम्मरामा कोसेबाली सिमी खेती , वडा नम्बर ५ पुलाचौर र ९ घतानमा आलु खेतीमा आइपिएम कृषक पाठशाला सञ्चालन गरेको छ । हरेक बालीमा १८ देखि २२ सप्तासम्म कृषकहरुलाई खेतवारीमा व्यवहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुंगानाले बताउनुभयो । ‘‘ पाठशालामा सहजकर्ताहरुले विषादीरहित उत्पादन गर्न र खेती बालीमा जैविक मलको प्रयोग बढाउन कृषकहरुलाई सिकाउनुभएको छ, नगरपालिकाले आइपिएम कृषक पाठशालालाई हरेक बर्ष फरक–फरक ठाउँमा निरन्तरता दिदैँ आएको छ, किसानलाई दक्ष बनाएर स्वस्थ बालीको उत्पादन गर्न यो कार्यक्रमले प्रेरित गर्ने अपेक्षा गरेका छौँ’’– कृषि अधिकृत ढुंगानाले भन्नुभयो ।
आइपिएम कृषक पाठशाला सञ्चालनको लागि नगरपालिकाले हरेक समूहका लागी रु १ लाख ५० हजारको दरले बजेट विनियोजन गरेको छ । बेनी नगरपालिकाको आइपिएम कृषक पाठशालामा जिल्लाकै अगुवा कृषकहरु सोवित शर्मा, क्षेत्रबहादुर कटुवाल र हरीराम पौडेलले सहजकर्ताको रुपमा काम गर्नुभएको छ । हरेक समूहमा साताको १ दिन दैनिक ४ घण्टा पाठशाला सञ्चालन हुने गर्छ । पाठशालामा स्थानीय स्तरमा उपलब्ध प्राङ्गारिक मल, गाइभैँसीको मुत्र र जैविक विषादीको प्रयोगबाट रोगकिरा व्यवस्थापन गर्न व्यवहारिक अभ्यास समेत गराउने गरिएको छ । पाठशालामा तरकारी खेती संगै धान, मकै, गहुँलगायतका खाद्यबाली, सुन्तला, कागती लगायतका फलफुलमा आइपर्ने समस्या र रोग कीरा व्यवस्थापनमा जैविक विषादीको प्रयोगको सम्बन्धमा समते कृषकहरुलाई सिकाईएको छ ।
रोगकिराको उपचारमा प्राङ्गारिक विधि प्रभाबकारी
बेनी नगरपालिका– ६ डम्मराका कृषकहरुले खेतीबालीमा लाग्ने रोग किराको उपचारमा रैथाने सीप र विधिलाई प्रयोगमा ल्याउन थालेका छन् । बेनी नगरपालिकाले सञ्चालन गरेको आइपिएम कृषक पाठशालामा व्यवहारिक ज्ञान, सीपको क्षमता विकास गरेर कृषकहरुले खेतीबालीमा लाग्ने रोग किराको उपचारमा स्थानीय वानस्पतिक बिषादी बनाएर प्रयोगमा ल्याएका हुन् ।
पाठशाला सञ्चालनको लागि करिब एक रोपनी क्षेत्रफलमा गरिएको कोसेबालीमा देखिएका रोग किराको समस्या समाधान गर्न प्याजको पात, केतुकी, पाती, असुरोलगायतका तितो, पिरो, टर्रो र अमिलो हुने प्रजातिका बनस्पती र बस्तुभाउको मूत्रबाट जैविक विषादी बनाएर प्रयोग गरिएको स्थानीय झरना थापाले बताउनुभयो । ‘‘पहिले खेतीबालीमा केही समस्या भए बजारबाट विषादी किनेर ल्याउने गथ्र्यौ, अहिले सिमीमा लागेको रोग कीरामा वानस्पतिक झोलको प्रयोग ग¥र्यौ, समस्या पनि हल भयो, नगद खर्च पनि भएन’’– उहाँले भन्नुभयो । वानस्पतिक बिषादीको प्रयोगले कृषि उपज समेत स्वस्थकर हुने गर्छ । पाठशाला सञ्चालन भएपछि गाउँघरमा रहेका स्रोत र साधनलाई प्रयोग गरेर कृषिको उत्पादन बढाउने र रोगकिराको पहिचान गरेर उपचार गर्ने ज्ञान सीप हाँसिल भएको तालिममा सहभागी स्थानीय कृषक पशुपति भण्डारी खत्रीले बताउनुभयो ।
हरेक साताको विहिवार चार÷चार घण्टाको दरले डम्मरा माझखेत आइपिएम कृषक पाठशाला सञ्चालन हुँदै आएको छ। तालिममा सिमी र बोडी खेती संगै आलुलगायतका तरकारी खेती र अन्नबालीको बिउ लगाउने देखि फल उत्पादन सम्मका सिकाई भएको स्थानीय कमला परियारले जानकारी दिनुभयो । कृषक पाठशालामा कृषकहरुलाई व्यवहारिक सिकाईको लागि लगाइएको भट्टेसिमी, एसनाइन सिमी, हाइब्रिट सिमी, मिटरबोडी, मालेपाटन बोडी खेती गरिएको छ । सिमी र बोडी उत्पादन भएपछि कृषकहरुले घरायसी प्रयोगदेखि विक्रि गरेर नगद आम्दानी गर्न थालेका छन् ।
रासायनिक विषादी : बिख हो, औषधी होइन
बेनी नगरपालिकाले सञ्चालन गरेको आइपिएम कृषक पाठशाला कृषकहरुलाई बिउ र जग्गाको छनौटदेखि प्राङ्गारिक बाली उत्पादनमा लाग्ने सीप र ज्ञान आर्जन गर्ने थलो बनेको छ । पछिल्लो समय खेतीबालीमा आउने रोग किराको उपचारमा शहर बजारमा पाइने रासायनिक विषादीको प्रयोग बढीरहेको र त्यसले कृषक देखि कृषि उपज उपभोग गर्ने नागरिकको जनस्वास्थ्यमा ठूलो समस्या ल्याइरहेको सन्दर्भमा आइपिएम कृषक पाठशालामा प्राङ्गारिक खेतीलाई जोड दिने गरिएको सहजकर्ता सोवित शर्माले बताउनुभयो ।
‘‘ खेतीबालीको रोग किराको उपचारका लागि बजारमा पाईने विषादी विख हो, औषधी होइन भन्ने बुझाई कृषकमा बनाउन पाठशालाले निकै भूमिका खेलेको छ, हामीले कृषकहरुलाई रोग किराको पहिचान गरेर स्थानीय स्तरमा बनाउन सकिने जैविक विषादीको प्रयोगका लागि प्रेरित गरेका छौँ, स्वस्थ कृषि उपजले मात्रै स्वस्थ नागरिक बन्न सघाउने कुरा बुझाएका छौँ’’– सहजकर्ता शर्माले भन्नुभयो ।
बजारमा अहिले बाहिरबाट आयात गरिएका तरकारी र फलफुलमा प्रतिबन्धित विषादीहरुको समेत प्रयोग गर्ने गरिएको र त्यसले मानव स्वास्थ्यमा गम्भिर असर पु¥याउने गरेको छ । खेतीबालीमा रोग कीराको महामारी आएको सन्दर्भमा मात्रै सुरक्षितजन्य विषादीहरुको प्रयोग गर्ने र प्रयोग गरेपछि कृषि उपजको तत्काल उपभोग नगर्ने सन्दर्भमा समेत कृषकहरुलाई जानकारी गराइएको अर्का सहजकर्ता क्षेत्रबहादुर कटुवालले बताउनुभयो ।
उहाँले पाठशालामा कृषकहरुलाई जैविक विषादी बनाउने प्रयोगात्मक सीप सिकाईएकाले नगरपालिका क्षेत्रमा प्राङ्गारिक कृषि उत्पजादनको लहर ल्याउन आइपिएम कृषक पाठशालाले भूमिका खेल्ने अपेक्षा गरिएको बताउनुभयो । कृषकहरुलाई कोठाभित्र दिने तालिम औपचारिकतामा सिमित बनिरहेको सन्दर्भमा खेतवारीलाई नै पाठशाला बनाएर सञ्चालन गरिने आइपिएम कृषक पाठशाला कृषकलाई व्यवहारिक ज्ञान र सीप विकास गर्ने उपयुक्त थलो बन्न थालेको छ ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l