पर्यटकीय स्थल सोवाङ धुरीमा शौचालय र खानेपानीको पूर्वाधार निर्माण

  • ५ असार २०८२, बिहीबार
  • 197 पटक पढिएको


बेनी, ४ असार : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीय स्थल सोवाङ धुरीमा जाने पर्यटकहरुको सुविधाको लागि शौचालय र खानेपानीको पूर्वाधार बनाईएको छ । धौलागिरि आइसफल पदमार्ग अन्तरगत पर्ने पर्यटकीय स्थल सोवाङ धुरीको भ्रमणमा जाने पर्यटकको सुविधाको लागि धुरी नजिकै क्याम्पिङ गरी बस्ने ठाउँमा शौचालय बनाईएको हो ।
गाउँपालिकाबाट विनियोजन भएको रु ३ लाख र स्थानीयबासीको रु ३१ हजार ७०० बराबरको श्रमदाननमा शौचालन निर्माण गरिएको वडा सचिब सुमन बुढाथोकीले जानकारी दिनुभयो । समुद्री सतहदेखि ३८४० मिटरको उचाईमा अवस्थित सोवाङ धुरीमा ढुंगा नपाईने भएकाले शौचालयको सेफ्टी ट्यांकी बनाएर काठले बारीएको र टिनले छाएर शौचालय बनाईएको छ । त्यसैगरि शौचालय परिसरमा चार वटा ५ सय लिटरको हिल ट्यांक ड्रम राखेर धारा समेत जडान गरिएको वडा सदस्य चेतन गर्बुजाले जानकारी दिनुभयो । उक्त ड्रममा धुरी नजिकै रहेको खानेपानीको मुलबाट पाइप मार्फत पानी ल्याएर जम्मा गर्ने व्यवस्था गरिएको छ । शौचालय बनाउन स्थानीयबासीसंगै वडा सदस्य प्रेमबहादुर पुन र चेतन गर्बुजाले एक सातासम्म निर्माणस्थलमा बसेर श्रमदान गर्नुभएको थियो ।
चिमखोलादेखि पात्लेखेत–सिजी–थामडाँडा, हुँदै करिब सात घण्टाको पैदलयात्रामा सोवाङधुरी पुग्न सकिन्छ । धौलागिरि आइसफल पदमार्ग अन्तरगत सोवाङ धुरी एकैठाउँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङखला अन्तरगतका दर्जनौँ हिमाललाई अवलोकन गर्न सकिने ठाउँको रुपमा परिचित छ । सोवाङधुरीबाट मनोरम हिमशृङ्खला संगै म्याग्दीका विभिन्न ग्रामीण बस्तीहरुलाई समेत अवलोकन गर्न सकिने र जैविक विविधतायुक्त क्षेत्र भएकाले यहाँको दृष्यले पर्यटकहरुलाई लोभ्याउने गर्छ ।
म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने गरि पहिचान भएको धौलागिरि आइसफल पदमार्ग अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ गायत्री मन्दिरदेखि सुरु भएर भगवती–रुइसे–भेडिओढार–मुटुकाटे–पजत्राधुरी हुँदै सोवाङधुरी जोड्ने मुख्य पदमार्ग रहेको छ । मुख्य पदमार्ग र चिमखोला हुँदै सोवाङधुरी पुगेपछि पर्यटकहरु नेपाने–लोसधाप–लाटीबराह–कालीबराह ताल हुँदै धौलागिरि हिमालको आधार शिविर पुग्ने गर्छन् ।
आधार शिविरबाट बाँझोबुकी हुँदै कुईनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिक स्थल रिखार हुँदै र रघुगंगा नदीको किनार नै किनार हुँदै सुंगुरथला भएर कुइनेमंगलको घ्यासीखर्क–चिमखोला हुँदै फर्कन मिल्ने गरि दुई वटा पदमार्गहरु सञ्चालनमा रहेको छ ।