अनेरास्ववियुको नेतृत्वको प्रतिस्पर्धामा म्याग्दीका प्रकाश पौडेल
- २७ जेष्ठ २०८२, सोमबार
- 33 पटक पढिएको
म्याग्दी, २६ जेठ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वका लागि म्याग्दीका प्रकाश पौडेल प्रतिस्पर्धिको रुपमा आउनुभएको छ । आइतवारदेखि सुरु भएको अधिवेशनको सोमबारबाट नेतृत्व चयन प्रकृया सुरु हुँदै छ । ३२ वर्षे उमेर हदका कारण महासचिवसहित माथिका पदाधिकारी बाहिरिँदा अध्यक्ष पदमा निवर्तमान समितिका सचिब एवं प्रवक्ता समेत रहनुभएका पौडेल अध्यक्ष पदको दावेदार बन्नुभएको हो ।
अनेरास्वियुको राजनीतिमा म्याग्दीमा विद्यालय तहको कमिटीदेखि जिल्ला अध्यक्ष र गण्डकी प्रदेश कमिटीको समेत नेतृत्व सम्हालीसक्नुभएका पौडेल सर्वसम्मत रुपमा आफुलाई अध्यक्षको नेतृत्वमा चुनीन प्रयासरत हुनुहुन्छ । अध्यक्ष पदमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताउँदै पौडेलले स्वच्छ प्रतिस्पर्धाको लागि समेत आफु तयार रहेको बताउनुभएको छ । उहाँले २४ महिनाको ४८ माइलस्टोन’ कार्यक्रम सञ्चालन गरी अघि बढ्ने आफ्नो योजना रहेको बताउँदै उक्त कार्यक्रममा आत्मनिर्भर नेपालका लागि माटो अभियान, विद्यार्थी नर्सरी स्थापना, विश्वविद्यालय प्राविधिक सीट क्षमता बढाई विद्यार्थीलाई नेपालमै पढ्न पाउने व्यवस्थाको सुनिश्चितता गर्ने, पेड इन्टर्नसिप जस्ता योजना अघि बढाउने योजना सहित आफु नेतृत्वका लागि तयार भएको जानकारी दिनुभयो ।
पौडेलले २०६२ सालबाट विद्यार्थी राजनीति सुरु गर्नुभएको थियो । म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौर स्थित जनकल्याण माध्यमिक विद्यालयको अनेरास्ववियु स्कुल कमिटीको अध्यक्ष बन्नुभएको थियो । त्यसको एक वर्षपछि उहाँ अनेरास्ववियु जिल्ला कमिटी सदस्य बन्न सफल हुनुभएको थियो। २०६५ मा सचिवालय सदस्य, २०६७ मा म्याग्दी बहुमुखी क्याम्पस सचिव हुँदै २०७१ मा उहाँ अनेरास्ववियु म्याग्दीको अध्यक्ष बन्नुभएको थियो । २०७२ मा अनेरास्ववियु केन्द्रीय सदस्य बन्नुभएका पौडेल तत्कालीन धौलागिरी सहइञ्चार्ज तथा म्याग्दी र बागलुङको इन्चार्जको जिम्मेवारी सम्हाल्नुभएको थियो । २०७८ सालमा उहाँ स्थायी कमिटी सदस्य र गण्डकी प्रदेश अध्यक्ष चुनिनुभएको थियो । आफू इञ्चार्ज भएको समयमा उहाँले ‘विपत्तिमा सहारा, विभेदमा विद्रोह म अखिल’ अभियानको सञ्चालन गर्नुभएको थियो । २०७९ सालमा भएको २३औँ महाधिवेशनमा उनी केन्द्रीय सचिव निर्वाचित हुनुभएको थियो भने नेतृत्वले प्रवक्ताको समेत जिम्मेवारी दिएको थियो । पोडेलले विद्यार्थी आन्दोलन संघसंगै विकास निर्माणमा भएको ढिलासुस्ती हटाउन दबाबमुलक अभियान, भूकम्प पिडित,बाढी पहिरो पीडितहरुको राहत, उद्धार तथा पुनस्थापनासंगै आर्थिक अभाबले उपचारबाट बञ्चित भएकाहरुका लागि सहयोग जुटाउने लगायतका सामाजिक कार्यहरुको समेत अगुवाई गर्दै आउनुभएको छ ।