बैदेशिक रोजगारमा जानु अघि पूर्व सूचना लिनुपर्नेमा जोड

  • २६ जेष्ठ २०८२, आईतवार
  • 3 पटक पढिएको

म्याग्दी, २५ जेठ । बैदेशिक रोजगारमा जानु अघि पूर्व सूचना लिएर जानुपर्नेमा जोड दिईएको छ । म्याग्दीका बेनी नगरपालिकाले आइतवार आयोजना गरेको सुरक्षित आप्रवासन (सामि) कार्यक्रम सन्दर्भमा आयोजित पत्रकारहरुसंगको अन्र्तक्रियामा सहभागीहरुले बैदेशिक रोजगारको लागि विदेश जानु अघि श्रम स्विकृति लिएर आफुले काम गर्ने कम्पनी र कामको बारेमा आबश्यक जानकारी लिएर जानुपर्नेमा जोड दिईएको हो ।

कार्यक्रममा नगरपालिकाका मेयर सुरत केसीले कामदारको रुपमा वैदेशिक रोजगारमा जाने व्यक्तिहरुको समस्यामा सहजीकरण गर्दै सुरक्षित बैदेशिक रोजगार बनाउनका लागि नगरपालिकामा सञ्चालन भएको सुरक्षित आप्रवासन (सामि) कार्यक्रम प्रभाबकारी बन्दै गएको बताउनुभयो ।

रोजगारका लागि विदेश पलायन बाध्यतात्मक बनेको र अध्ययनका लागि जानेहरु पनि रोजगारकै समस्यामा पर्ने गरेको बताउँदै सामि कार्यक्रम मार्फत श्रम स्विकृत लिएर विदेश जानेहरुका लागि पूर्व सूचनामा पहुँच, विक्तिय साक्षरता, मनोमरामर्श सेवालगायतका काम भैरहेको बताउनुभयो । बेनी नगरपालिकामा गत बर्षदेखि स्विस सरकार, नेपाल सरकार, प्रदेश सरकार र बेनी नगरपालिकाको साझेदारीमा सुरक्षित आप्रवासन कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा नगरपालिकाका उपमेयर ज्योति लामिछानेले बाध्यताले विदेश पलायन हुने व्यक्तिहरुले आफुले त्यहाँ पुगेपछि गर्नुपर्ने काम, पाउने सुविधा र सम्भावित अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्रै जानुपर्ने सन्देश फैलाउन आबश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले सुरक्षित आप्रवासनको अवस्था र चुनौती तथा कार्यक्रमले पारेका सकरात्मक प्रभाबहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार, बैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र शोषणरहित बनाउनका लागि कार्यक्रमले जनचेतना फैलाउने र परामर्श दिने काम गरिरहेको छ ।

कार्यक्रममा कार्यक्रम अधिकृत उमा पौडेलले सरकारले स्थानीय तहको तल्लो इकाई सम्म नै वैदेशिक रोजगारका समस्या समाधान गर्न भूमिका खेल्ने संयन्त्रका रुपमा देशव्यापि रुपमा सामि कार्यक्रमलाई अघि बढाएको जानकारी दिनुभयो । म्याग्दीमा बेनी नगरपालिका र मंगला गाउँपालिमामा लागु भएको यस कार्यक्रम आगामी बर्षदेखि मालिका, धवलागिरी र अन्नपूर्ण गाउँपालिकामा समेत सञ्चालनको तयारी भैरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका सहसचिब प्रताब बानियाँले सुरक्षित वैदेशिक रोजगारको सबालमा सञ्चारमाध्ययम र पत्रकारहरुको भूमिकाबा सन्दर्भमा प्रकाश पार्नुभएको थियो । जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रले वैदेशिक रोजगारका लागि जानका लागि राहदानी बनाउन आउनेहरुलाई आबश्यक परामर्श सेवा प्रदान गर्दै आएको छ ।