माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट सुरुङ खन्न सुरु

  • २५ जेष्ठ २०८२, शनिबार
  • 37 पटक पढिएको

म्याग्दी २४ जेठ । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणधिन ५३ दशमलब ५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी– १ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण सुरु भएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७ भारबाङ स्थित आउटलेटतर्फबाट सुरुङ खन्ने कामको शनिवार सुभारम्भ गरिएको हो ।
सुरुङ खन्ने कामको सुभारम्भ गर्दै मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजनाको निर्माण कार्यमा आबश्यक मेसिन, उपकरण र जनशक्ति परिचालन गरी निर्धारित समयभित्रै आयोजनाको कामलाई सम्पन्न गराउनतर्फ लाग्न आयोजनालाई आग्रह गर्नुभएको थियो । आउटलेटबाट सुरुङ खन्ने कामको सुरु भएसंगै यस आयोजनामा चार ठाउँबाट सुरुङ खन्ने काम भैरहेको छ ।
यस अघि आयोजनाको बाँधस्थल धवलागिरी गाउँपालिका– ४ खाम्ला र छहरीको अडिटबाट दुईतर्फ सुरुङ खन्ने काम भैरहेको छ । अडिट तर्फवाट निर्माण भईरहेको सुरुङ र आउटलेटबाट सुरु भएको सुरुङ १ किलोमिटर ८६५ मिटर लामो हुने आयोजना प्रमुख ज्योतिकुमार केसीले बताउनुभयो । उहाँका अनुसार, यस आयोजनामा बाँधबाट विद्युतगृहसम्म कुल पाँच किलोमिटर सात सय मिटर सुरुङ निर्माण हुनेछ ।
म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले धवलागिरी गाउँपालिका–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण गरिरहेको छ ।
वि.स. २०८० चैत १९ मा सम्झौता र २०८१ बैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्याक्टरले निर्माणस्थलमा प्रयाप्त मात्रामा जनशक्ति निर्माण सामाग्री र औजार उपकरणको बन्दोबस्त मिलाएको र निर्माण कार्यले तिब्रता पाएको आयोजना प्रमुख केसीले जानकारी दिनुभयो । वि.स. २०८३ फागुन २१ गते विद्युत उत्पादन गर्ने लक्ष्य सहित बाँधसँगै सुरुङ र विद्युतगृह निर्माणको कामलाई तिब्रता दिएको आयोजनाले जनाएको छ ।
छहरीको एक सय ९८ दशमलब ९० मिटर लामो अडिट सुरुङ, बाँधतर्फबाट सुरु गरिएको ७६ दशमलब ५४ मिटर लामो सुरुङ र अडिटबाट थप १ किलोमिटर २७० दशमलब ६७ मिटर मुख्य सुरुङ निर्माण भइसकेको छ । आयोजनाको बाँधस्थलतर्फ २० प्रतिशत भौतिक प्रगति भएको छ ।
सानीमा बैङ्कको नेतृत्वमा छ वटा बैङ्कको ऋण, प्रर्वद्धक कम्पनी र सर्वसाधारणको शेयर मार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपैयाँको लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ् । भारवाङ देखि एक दशमलब पाँच किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन बनाएर नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माण गरिरहेको एक सय ३२ केभी क्षमताको सवस्टेशनबाट यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत केन्द्रिय लाइनमा जोडिनेछ् ।