हीरक महोत्सवले गरायो जेठो हिमाल‘ अन्नपूर्ण प्रथम’को वास्तविक चिनारी

  • २४ जेष्ठ २०८२, शुक्रबार
  • 75 पटक पढिएको

म्याग्दी , २३ जेठ ।
विश्वमा आठ हजार मिटर अग्ला हिमालहरुमध्ये सबैभन्दा पहिलो पटक मानव पाईला परेको ‘अन्नपूर्ण प्रथम’ हिमालको आफ्नो पहिचान र चिनारी ढिला गरी स्थापित भएको छ । सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो ।
हिमालमा मानव पाईला परेको हिसाबले जेठो हिमालको नामले परिचित अन्नपूर्ण प्रथम हिमालको बास्तविक पहिचान र चिनारी अन्नपूर्ण हीरक महोत्सवले दिएको हो । पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गर्न प्रयोग भएको आधार शिविर र पदमार्ग म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा पर्छ । यस अघि कास्की र राजधानी काठमाण्डौ केन्द्रित कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएकोमा पहिलो पटक वास्तविक भूगोलमै सरकारी तवरबाट अन्नपूर्ण आरोहण दिवस मनाइएको हो ।
अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा नेपाल पर्यटन बोर्ड, पर्वतारोहण संघ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको आयोजनामा अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा जेठ १६ देखि २२ गतेसम्म अन्नपूर्ण हीरक महोत्सव मनाईएको छ । हीरक महोत्सवको मूल समारोहलाई उद्घाटन गर्न प्रधानमन्त्री केपि शर्मा ओली नारच्याङ आउनुभएको थियो । अाधार शिविरम अाराेहीहरूकाे शालिक अनावरणमा  उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुुजा, गाउँपालिका अध्यक्ष भारतकुमार पुन, फ्रान्सेली राजदुत भर्जिनी कोर्टेभल, नेपाल उद्योग वाणिज्य महाँसघका अध्यक्ष चन्द्र ढकाल, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा निरु शेर्पा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख मणीराज लामिछाने, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य लगायत पुग्नुभएकाे थियेा । धेरै कोसीस र प्रयास गरेर अन्नपूर्ण आरोहण दिवसलाई वास्तविक भूगोलमा मनाउन सम्भव भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
‘‘ अन्नपूर्णको गुमेको पहिचान फिर्ता ल्याउन अन्नपूर्ण हीरक महोत्सवले सम्भव भएको छ, हिजोको दिनमा आरोहण आधार शिविर र पदमार्ग गुमनाम थिए, अब राज्य र सरोकारवाला सबैलाई वास्तविकताबारे जानकारी भएको छ, अब यस क्षेत्रको पर्यटन विकासमा रचनात्मक सहयोग पुग्ने अपेक्षा गरेका छौँ’’– गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो । प्रधानमन्त्री र फ्रान्सेली राजदुत भर्जिनी कोर्टेभलदेखि प्रथम आरोही मौरिस हर्जोगका छोरा माथिएसलगायतका परिवारका सदस्य र फ्रान्सेली नागरिकहरुको समेत सहभागीतामा अन्नपूर्ण हीरक महोत्सव मनाइएकाले आगामी दिनमा अन्नपूर्ण आधार शिविर र पदमार्गको प्रचार प्रसारमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
हीरक महोत्सवको अवसरमा करिब २ सय जनाको सहभागीतामा नारच्याङदेखि आधार शिविर सम्मको पदयात्रा, आधारशिविरदेखि नारच्याङ गाउँसम्मको ३८ किलोमिटर लामो म्याराथन दौड प्रतियोगिताका साथै नारच्याङमा मूल समारोह र पुख्र्यौली नृत्य प्रस्तुती लगायतका कार्यक्रम समावेश गरिएको थियो । हिमाल आरोहणको इतिहासमा नेपालकै जेठो हिमालको रुपमा परिचित भएपनि आरोहण भएको वास्तविक भूगोल ओझेलामा परेकाले हीरक बार्षिकोत्सवलाई आरोहण आधार शिविरमै आएर मनाईएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणीराज लामिछानेले जानकारी दिनुभयो ।
‘‘ जेठो हिमालको रुपमा अन्नपूर्ण हिमालको संसारभर नाम फैलिएपनि बास्तविक आरोहण आधार शिविर उपेक्षामा परेको रहेछ, हामीले यस पटक सबै सरोकारवालासंग समन्वय गरेर अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमै आएर आरोहण दिवस मनाएका छौँ, यसले अन्नपूर्णको लुकेको पहिचानलाई अन्तराष्ट्रियकरण गर्न सघाउ पुग्ने विश्वास गरेका छौँ’’– लामिछानेले भन्नुभयो ।
सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । आरोहण मार्गको हिसाबले ऐतिहासिक महत्व बोकेको भएपनि प्रचार प्रसार र पूर्वाधार निर्माणको अभाबले अन्नपूर्ण प्रथम आधार शिविर ओझेलमा परेको थियो । अन्नपूर्ण हिमाल आरोहण दिवस यस अघि पोखरा आसपासका क्षेत्रमा मनाउने गरिएकोमा यस पटक हिमाल आरोहणमा इतिहास बोकेको अन्नपूर्ण प्रथम आधार शिविरमै आएर मनाउँदा यसले न्याय भएको महसुस भएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
भौगोलिक विकटता रहेको र राज्यको माथिल्लो निकायमा पहुँच राख्न नसकेको कारण अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गमा पूर्वाधार निर्माण हुन सकेको थिएन भने यहाँको पहिचान समेत गुमनाम बनेको थियो । सन २०१० मा हेलीकप्टर मार्फत नारच्याङ गाउँ आउनुभएका प्रथम आरोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम आधार शिविरको ऐतिहासिक महत्वबारे स्थानीयबासीलाई अवगत गराएपछि वि.स. २०६८ मा नारच्याङका पर्यटन व्यवसायि तेज गुरुङको नेतृत्वमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग पहिचान गरिएको थियो ।
‘‘ हामीले बर्षौ लगाएर पदमार्ग लगायतका पूर्वाधार बनाएका हौँ, हर्जोगकै सम्मानमा हामीले उहाँकै नामबाट मौरिस हर्जोग पदमार्गको रुपम नामकरण समेत गरेका छौँ, बर्षौदेखि ओझेलमा परेको यो क्षेत्रले पहिलो पटक हीरक महोत्सवमा न्याय पाएको अनुभूति गरेका छौँ’’– पदमार्गका अभियान्ता गुरुङले भन्नुभयो । उहाँका अनुसार हीरक महोत्सवको अवसरमा आधार शिविरमा प्रथम आरोहीहरुको शालिक अनावरण गर्नुका साथै अहिलेसम्मका सबै आरोहीहरुको अभिलेख समेत खुला संग्रहालय बनाएर राखिएको छ । प्रथम आरोही हर्जोगले हिमाल आरोहणमा प्रयोग गरेका उपकरणहरु नेपाल पर्वतारोहण संघद्धारा सञ्चालित अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पोखरालाई हस्तान्तरण गरिएको छ।