अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको शालिक अनावरण (तस्बिर/भिडियाे)
- २२ जेष्ठ २०८२, बुधबार
- कमल खत्री
- 457 पटक पढिएको
म्याग्दी २१ जेठ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङको अन्नपूूर्ण आधार शिविरमा अन्नपूूर्ण हिमालका प्रथम आरोहण टोलीको शालिक स्थापना भएको छ । अन्नपूर्ण हीरक महाेत्सवकाे अवसरमा अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिज हर्जोग, लुई लचेनल र प्रथम नेपाली आरोही सोनाम वालुङ शेर्पाको शालिक स्थापना गरी अनावरण गरिएकाे हाे ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल आरोहण भएको ७५ औ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित हीरक जयन्ती महोत्सवको अवसरमा उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुुजा, गाउँपालिका अध्यक्ष भारतकुमार पुन, फ्रान्सेली राजदुत भर्जिनी कोर्टेभल, नेपाल उद्योग वाणिज्य महाँसघका अध्यक्ष चन्द्र ढकाल, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा निरु शेर्पा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख मणीराज लामिछाने, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य र मौरीस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङसमेतले शालीकको अनावरण गर्नुभएको थियो ।
संसारका आठ हजार मिटर माथिका हिमालहरु मध्येमा अन्नपूर्ण हिमालमा पहिलो पटक मानव पाईला ७५ बर्ष पुरा भएको अवसरमा अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा प्रथम आरोहीहरुको अर्थकदको शालिक स्थापना गरिएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । समुद्री सतहदेखि ४ हजार १९० मिटर उचाइमा रहेको आधार शिविरमा शालीक स्थापना गरिएको ठाउँमा हालसम्म अन्नपूूर्ण हिमाल आरोहण गरेका पाँच सय ३६ जनाको नामावली उल्लेख गरिएको ताम्रपत्र भएको खुल्ला संग्रहालय पनि स्थापना गरिएको छ ।
सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाको रूपमा अन्नपूर्ण गाउँपालिकाले यस बर्ष हीरक जयन्ती महोत्सव नै आयोजना गरेको थियो ।
आधार शिविरमा स्थापित शालिकको प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्ने कार्यक्रम रहेपनि खराव मौषमको कारण प्रधानमन्त्री ओली नारच्याङ गाउँमा आयोजित अन्नपूर्ण हिरक महोत्सव समारोहमा सहभागी भएर फर्कनुभएको थियो । शालीक अनावरण गर्न आधार शिविर पुग्नुभएका राज्यमन्त्री गर्बुजाले अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन विकासमा सरकारले पहल गर्ने बताउनुभयो ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l