सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु

  • १४ जेष्ठ २०८२, मंगलवार
  • 2837 पटक पढिएको

म्याग्दीको धवलागिरी गाउँपालिका– ३ मुना स्थित दरखोला जलविद्युत आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर मंगलवार एक जनाको मृत्यु भएको छ । जलविद्युत आयोजनाको पाइपलाइनका लागि निर्माणधिन कुनौटा– दर सोलबाङ मोटरबाटो खन्ने क्रममा भिरमाथिबाट खसेको पहिरोमा पुरिएर एक्साभेटर चालक ३२ बर्षका खेमराज कुमैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका– ८ घर भएका एक्साभेटर चालक कुमैको शब एकसाभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको र शब परिक्षणको लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको प्रहरीले जनाएको । घटनापछि प्रहरी र स्थानीयबासीले एक्साभेटर चालकको शब पहिरोबाट बाहिर निकालेका थिए । घटनाको थप अनुसंधानको लागि इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरिक्षक सोमदास ढकालको नेतृत्वमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
मोटरबाटो खन्दै गरेको समयमा अचानक माथिबाट खसेको पहिरोले एक्साभेटर समेत पूर्ण रुपमा क्षति भएको छ । दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६ दशमलब ५ मेगावाट क्षमताको दरखोला जलविद्युत आयोजनाले पेनस्टक पाइप राख्नका लागि अहिले लाम्पुस भिरमा सडक निर्माण गरिरहेको छ ।