मालिका गाउँपालिकाले घरेलु मदिराको परीक्षण गर्ने
- १३ जेष्ठ २०८२, सोमबार
- 229 पटक पढिएको
म्याग्दी, जेठ १२ गते । म्याग्दीको मालिका गाउँपालिकाले कोदोबाट बन्ने घरेलु मदिराको परीक्षण गर्ने प्रक्रिया अगाडी बढाएको छ । परम्परागत प्रविधि प्रयोग गरेर गाउँगाउँमा उत्पादन भएको घरेलु मदिराको परीक्षण गरी गुणस्तर कायम गर्ने भएको हो । मदिराको गुणस्तर कायम गर्न गाउँगाउँमा उत्पादन भएको मदिरालाई सङ्कलन गरी आधुनिक मेसिन मार्फत परीक्षण गरेर मदिराको स्तरीकरण गरिने गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो।
पालिका अध्यक्ष गर्बुजाले भन्नुभयो, ‘‘समुह मार्फत सञ्चालन गरिने यो कार्यक्रम मार्फत गाउँगाउँमा उत्पादन भएको मदिराको परीक्षण गरी गुणस्तर कायम गर्ने, अल्कोहलमा एकरुपकता ल्याउने र मदिरामा हुने अखाद्य वस्तुलाई हटाउने लगायतका कामहरु गरेर स्तरीय मदिरा उत्पादन गरिने छ ।’’ उत्पादन भएको मदिरा के बाट बनेको हो त्यसको जानकारी समेत प्रष्ट रुपमा उल्लेख गरिने उहाँले बताउनुभयो । समुह मार्फत सञ्चालन गरिने यो कार्यक्रमले मदिराको गुणस्तर वृद्धि गरी स्थानीय स्तरमा आम्दानीको स्रोत बढाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कोदो, जौ, उवा लगायतबाट घरेलु मदिरा बनाउने व्यवसायलाई व्यवस्थित र आम्दानीको स्रोतका रुपमा विकास गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा १४ लाख रुपियाँ बजेट विनियोजन गरी उपकरण खरिदको प्रक्रिया अगाडी बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिनुभयो ।
घरेलु मदिारलाई व्यवस्थित गरी गुणस्तरीय उत्पादनका लागि पालिकाले आधुनिक मेशिन खरिदको प्रक्रिया अगाडी बढाएको छ प्रमुख प्रशासकीय अधिकृत ढकालले भन्नुभयो, ‘‘चालु आर्थिक वर्षभित्र मेसिन खरिद गरी मदिराको परीक्षण थाल्छौं ।’’
मेसिन मार्फत मदिरामा भएको हानिकारक तथा अखाद्य वस्तुलाई हटाउने र गुणस्तर परीक्षण गरी स्तरीय मदिरा उत्पादन गर्ने योजना रहेको पालिका अध्यक्ष गर्बुजाले बताउनुभयो । मदिरामा प्रयोग हुने मर्चाको गुणस्तर एउटै बनाउने र पालिका भित्र मदिार उत्पादकहरुको पहिचान गरी तालिमको व्यवस्था गर्ने लगायतका कार्यक्रम संचालन गरिने पालिका अध्यक्ष गर्बुजाले बताउनुभयो । gorkhapatraonline.com