म्याग्दीकी सुवेदीलाई अम्बिका देवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार
- १५ बैशाख २०८२, सोमबार
- 125 पटक पढिएको
म्याग्दीकी पत्रकार बिनु सुवेदीलाई यसवर्षको अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । पत्रकारितामा परम्परागत रूपमा रहेको पितृसत्तात्मक मान्यतालाई चिर्दै जोखिमपूर्ण पत्रकारितामा महिलाको नाम स्थापित गर्न पु¥याएको योगदानको कदर गर्दै पत्रकार सुवेदीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । सुवेदीलाई प्रदान गरिने उत्तः पुरस्कारको राशि १ लाख ११ हजार १११ रुपैयाँ रहेको छ ।
रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानको तर्फबाट अध्यक्ष गंगाप्रसाद ओलीले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा ‘महिलाको विषय नमानिने, असहज र जोखिमपूर्ण राजनीतिक बिटको पत्रकारितामा सुवेदीले पु¥याएको योगदानको सम्मान गर्दै यो पुरस्कार प्रदान गर्न लागिएको जनाइएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका ३ मौवाफाँटमा जन्मनुभएकी सुवेदी २ दशकदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ ।
विधागत विज्ञहरूको पुरस्कार निर्णायक मण्डलबाट प्राप्त सिफारिस तथा संस्थाको निर्णयका आधारमा पुरस्कृत व्यक्तित्वहरुको छनौट गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिनिधिसभाका उप–सभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा नेपाल पर्यटन बोर्डको सभाकक्ष प्रदर्शनी मार्गमा २० वैशाख २०८२ मा एक समारोहका बीच पुरस्कार समर्पण तथा सम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।