मुक्तिधाम माविको हीरक जयन्ती मनाउन सुरु (फोटो फिचर)

  • १५ बैशाख २०८२, सोमबार
  • 425 पटक पढिएको

म्याग्दी १४ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको जिल्लाकै जेठो विद्यालयको रुपमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयको ७५ औँ बार्षिक उत्सवको अवसरमा हीरक जयन्ती मनाउन सुरु गरिएको छ । वि.स. २००६ सालमा राहुघाट मिडिल स्कुलको नाममा स्थापना भएको यस विद्यालयमा वि.स. २०२२ देखि माध्यमिक तहको पठनपाठन सुरु भएको थियो ।
विद्यालय स्थापना भएको ७५ बर्ष पुरा भएको अवसरमा विद्यालयले आइतवारदेखि विविध कार्यक्रम सहित हीरक जयन्ती मनाउन सुरु गरेको हो । तत्कालिन समयमा भगवतीको धुपीरुखमा एकतले कच्ची भवनबाट पठनपाठन सुरु भएको यस विद्यालयको तह बृद्धि र विद्यार्थीको संख्या बढ्दै गएपछि वि.स. २०४० सालमा नागबारीमा स्थानान्तरण गरिएको थियो ।
हीरक जयन्तीको आइतवार झाँकी सहितको प्रभातफेरी सहित एक समारोहका बिच उद्घाटन गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका सर्बोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीले जिल्लाकै पुरानो विद्यालयको रुपमा स्थापित यस विद्यालयले शैक्षिक क्षेत्रमा अतुलनिय योगदान दिएको बताउनुभयो । ‘‘ तत्कालिन समयमा विद्यालय स्थापना गर्नु अत्यन्तै उदाहरणीय कार्य थियो, दुर्गम र राज्यको पहुँचबाट धेरै टाढाको बस्तीमा स्थापना भएको विद्यालयले शिक्षाको ज्योति बाल्दै समाज परिवर्तनमा खेलेको भूमिका स्रहानिय छ’’– उहाँले भन्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका पूर्व सदस्य विनोद केसी र रघुगंगा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले विद्यालयले जिल्लाकै शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै विद्यालयको भौतिक पूर्वाधार संगसंगै गुणस्तरीय शैक्षिक सुधारमा लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले मुक्तिधाम माविका शैक्षिक उत्पादनहरुले राज्यको प्रशासनीक र न्यायीक क्षेत्रको माथिल्लो तहको नेतृत्वमा पुग्न सफल भएको बताउँदै विद्यालयमा विद्यार्थीहरुको आकर्षण बनाउने कार्यक्रम तय गर्नुपर्ने बताउनुभयो ।
हीरक जयन्तीको अवसरमा विद्यालयले स्थापनादेखि हालसम्मको गतिविधि र उपलब्धिहरुलाई समेटिएको ‘मुक्तिदर्पण’ स्मारिका बिमोचन गरिएको छ । कार्यक्रममा विद्यालयका पूर्व शिक्षक, पूर्व प्रअ, पूर्व विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्ष एवं विद्यालयमा अध्ययन गरी राष्ट्रको विभिन्न तहमा रहेर योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको छ । बैशाख १८ गतेसम्म आयोजना गरिएको हीरक जयन्तीको अवसरमा जिल्ला स्तरीय अन्तरमावि छात्र भलिबल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिताको साथमा विविध साँस्कृतिक कार्यक्रम समावेश गरिएको विद्यालयका प्रधानध्यापक अमर केसीले जानकारी दिनुभयो ।
कक्षा १२ सम्म अध्यापन हुने मुक्तिधाम माविमा हाल करिब ४०० विद्यार्थी अध्ययनरत रहेका छन् । वि.स. २०७६ देखि कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फ बालि विज्ञान बिषयमा पठनपाठन गराउँदै आएको छ । पुरानो र जिर्ण भवनको जिर्णेउद्धार गरी पक्क भौतिक संरचनामा सञ्चालित यस विद्यालयले विद्यार्थीहरुको सहजताका लागि छात्रावास भवन निर्माण गरी आवासीय सुविधा सहितको विद्यालय बनाउने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष देवेन्द्रबहादुर मल्ल, तर्क केसी, वडा अध्यक्ष अमृत भण्डारी, गाउँपालिकाका प्रशासकीय अधिकृत पदम भण्डारी, पूर्व प्रअ महेशचन्द्र प्रधान लगायतले विद्यालयको शैक्षिक, भौतिक अवस्था र स्थापनादेखि हालसम्मको शैक्षिक उपलब्धि र योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका पूर्व शिक्षक हरिप्रसाद पौडेल, पूर्व विद्यार्थी रेगुन खत्री, विद्यार्थी रेजिना भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदीको अध्यक्षता, सहायक प्रअ भगवान बहादुर खत्रीको स्वागत, प्रअ अमर केसीको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको शिक्षकद्धय मेघा रिजाल र विष्णु रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो भने विद्यार्थी र महिला शिक्षक तथा पूर्वा विद्यार्थीहरुको विविध साँस्कृतिक प्रस्तुती रहेको थियो ।