पुलाचौर र रत्नेचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

  • १३ बैशाख २०८२, शनिबार
  • 39 पटक पढिएको

म्याग्दी, १३ वैशाख ः महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं.–५ पुलाचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ ।
समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोतसाधन र सम्भावना भएको उद्यम व्यवसाय गरी आयआर्जनका काममा संलग्न गराउन कार्यक्रममार्फत सीप र प्रविधि सहयोग गरिएको छ ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले आमा समूहलाई परिचालन गरेर महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी र सामाजिक रूपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
“महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौं,” उहाँले भन्नुभयो “आर्थिक वर्ष २०७९/०८० देखि शुरु भएको चालु आर्थिक वर्षमा रु. २० लाख बजेट बिनियोजन भएको कार्यक्रम वडा न. १ र ५ मा लागू भएको छ ।”

महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेको उपमेयर लामिछानेले बताउनुभयो । नगर उपप्रमुख लामिछानेको प्रस्तावमा तीन वर्षअघि निर्वाचित कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख डमसरा पुनले पुलाचौर आमा समूह मार्फत सेतोढुङ्गा, पुलाचौर, नयाँगाउँ र डडुवामा एक सय २५ जनालाई च्याउ खेती, एक सय ३२ जनालाई धुप बनाउने र १७ जनालाई सिलाई कटाई तालिम प्रदान गरिएको जानकारी दिनुभयो ।

च्याउ खेती र धुप बनाउने समूहलाई दुई÷दुई दिन तालिम, विउ, एक÷एक वटा टनेल सहयोग गरिएको छ । तीन महिने सिलाई कटाई तालिममा सहभागीहरुलाई उपकरण पनि सहयोग गरिएको छ । रत्नेचौरमा २० जनालाई बाँसबाट सजावटका सामग्री बनाउने तालिम शुरु भएको छ । दुई वटा समूहलाई च्याउ खेती सम्बन्धी तालिम र प्रबिधी सहयोग गरिने नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा बेनी नगरपालिका–३ भकिम्लीमा कुखुरापालन र वडा नं.– ९ घतानमा चप्पल, दालमोड, नमकिन बनाउने तालिम सञ्चालन भएको थियो ।

२०८०÷०८१ मा बेनी नगरपालिका–१० पात्लेखेतमा सञ्चालन भएको कार्यक्रममा सहभागी महिलाहरुले ब्यवसायिक रुपमा बाजा बजाउन र वडा नं.–२ खबरामा केराको थामबाट धागो बनाउने गरेका छन् ।पुलाचौर आमा समूहका सचिव हिरा जिसी बानियाले बजारमा खपत हुने, बनाउन सजिलो, छिटो आम्दानी हुने भएकाले च्याउ खेती र धुप बनाउने सिप सिकेको बताउनुभयो । “पहिलो चरणमा सामुहिक रुपमा च्याउ र धुप उत्पादन गर्छौ,” उहाँले भन्नुभयो “परिक्षण सफल भएपछि व्यक्तिगत रुपमा व्यवसायिक हिसाबले ब्यवसाय गर्ने योजना छ ।”