बेनीका औषधि र डेन्टल क्लिनिकको अनुगमन
- १० बैशाख २०८२, बुधबार
- 465 पटक पढिएको
म्याग्दीको सदरमुकाम बेनीबजारमा संचालित औषधि तथा डेन्टल अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको अगुवाईमा भएको अनुगमनमा नवीकरण नगरी सञ्चालन गरेको, कागजात नभेटिएको, औषधि बिक्री गर्दा मूल्यसूची अनुसार नबेचिएको, म्याद सकिएका औषधि लगायतका लगायत कुनै न कुनै समस्या भेटिएको छ । अनुगमनमा चिकित्सकले समेत शरीरमा भिटामिन, मिनरल र अन्य आवश्यक तत्व खानाबाट पूर्ति नभएको भन्दै बिरामीलाई फुड सप्लिमेन्टलाई औषधिको नाममा सिफारिस गर्ने गरेको समेत भेटिएको छ भने औषधि पसलले समेत बिरामीलाई औषधि बाहेक विभिन्न बाहनामा अनावश्यक खर्च गराउने गरेको समेत भेटिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अमृतप्रसाद कँडेलले बताउनुभयो ।
‘‘बिरामीलाई धेरै खर्च गराउने प्रबृत्तिलाई सचेत गराइएको छ, नविकरण नभएकालाई दुई दिनको समय दिएका छौ’’ प्रमुख कँडेलले भन्नुभयो । उहाँले सदरमुकामपछि ग्रामिण क्षेत्रका औषधि पसलको समेत अनुगमन गरिने बताउनुभयो । अनुगमन टोलीकी संयोजक सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यले औषधि, डेन्टल र ल्याब सेवा मापदण्ड बिपरित सञ्चालन गर्न नदिने बताउनुभयो । ‘‘सुधार गर्न दिइएको समयमा पनि अटेर गरे थप कारवाही गछौं, चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा औषधि दिनुपर्छु ।’’सोमबार निलगिरी डेन्टल केयर सेन्टर, न्यु युगल फार्मसी, पाण्डे मेडिकल हल, यूगल डेन्टल केयर सेन्टर, ढकाल मेडिकल हल, न्यु ढकाल ल्याब, बेनी सन्जिबिनी हेल्थ क्लिनिक, कोर स्माइल डेन्टल केयर सेन्टर र म्याग्दी डेन्टल होममा अनुगमन गरिएको छ । अनुगमन टोलीले बेनीबजारमा रहेका अन्य फार्मेसी, डेन्टल सहित औषधि पसलहरूको समेत अनुगमन गर्ने जनाएको छ । अनुगमनमा प्रदेश जनस्वास्थ्यका मिनराज न्यौपाने, बेनी अस्पतालका आषिश श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, पर्यटन तथा उद्योग कार्यालयका कम्प्युटर सहायक सन्तोष ढुंगाना लगायतको उपस्थिती रहेको थियो । टोलीले औषधि पसल (मेडिकल तथा फार्मेसी), क्लिनिक एवं ल्याबलाई मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन अवज्ञा गरे बन्द गर्ने चेतावनी समेत दिएको छ । म्याग्दीमा विना दर्ता सञ्चालित औषधि पसलहरूले बिरामीलाई मनपरी औषधि दिदाँ दिर्घरोगीको संख्या बढेको छ ।