मुदी जलविद्युत गाउँ बन्दै : एउटै वडामा तीन जलविद्युत आयोजनाको निर्माण सुरु

  • १० फाल्गुन २०८१, शनिबार
  • 439 पटक पढिएको

म्याग्दी  १० फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका– ४ मुदीमा तीनवटा जलविद्युत अयोजना निर्माण सुरु भएको छ । धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट १५५ मेगावाट क्षमताको तीन जलविद्युत आयोजना निर्माण सुरु भएका हुन् । उर्जा डेभलपर्स प्रा.ली. अन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाले पूर्वाधार सुरु गरेको छ भने हाइड्रो भिलेज प्रवद्र्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले पहुँचमार्ग निर्माणलाई तिब्रता दिएको छ ।

त्यसैगरि हाइड्रो इम्पायर प्रालि प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत सुरुङ निर्माणको तयारी गरेको छ । म्याग्दीनदी संगै यसका सहायक गुर्जाखोला र मुदी खोलामा वभिन्न ८ वटा जलविद्युत आयोजना दर्ता भएको मध्ये तीन वटा आयोजनाको निर्माण काम अघि बढेको धवलागिरि गाउँपालिका अध्यक्ष प्रेम प्रसाद पुनले बताउनुभयो ।

‘‘ जलविद्युत आयोजनाहरुको निर्माण कार्य अघि बढेसंगै दुर्गम बस्तीमा सडकको पहुँच विस्तारमा समेत सघाउ पुगेको छ, हामीले आयोजनामा स्थानीय जनशक्तिलाई समेत प्राथमिकता दिएर काममा अवसर दिन र सामाजिक क्षेत्रमा गर्नुपर्ने उत्तरदायित्वका कार्यलाई समेत प्रभाबकारी बनाउन आग्रह गरेका छौँ’’– गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो ।

मुदीको खाम्लामा बाँध र मालिका गाउँपालिका–७ भारवाङमा विद्युतगृह रहने अपर म्याग्दी–१ जलविद्युत आयोजनाले पहुँचमार्ग निर्माण सकेर सुरुङ र बाँधतर्फका पूर्वाधार निर्माण सुरु गरेको छ । २०८१ बैशाख २८ गतेदेखि पुर्वाधार निर्माण गर्न सुरु गरेको आयोजनाले कुल पाँच किलोमिटर सात सय मिटर सुरुङ मध्ये ५३० मिटर सुरुङ निर्माण सकिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताउनुभयो ।

उहाँका अनुसार, दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको बाँध, सुरुङ र विद्यूतगृहतर्फ अहिलेसम्म करिब १७ प्रतिशत निर्माण कार्य पुरा भएको छ । मुदीकै दोभानमा बाँध र जेल्टुङमा विद्युतगृह रहने ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले विद्युगृहको पहुँचमार्ग निर्माण गरेको छ । नाउरादेखि ६ किलोमिटर दुरीमा पर्ने जेल्टुङमा विद्युतगृहको लागि पूर्वाधार बनाउने र सुरुङ निर्माणको तयारी गरिएको छ । सुरुङ निर्माण र विद्युतगृहदेखि बाँधतर्फको ११ किलोमिटर सडकको पहुँच विस्तारको काम एकैसाथ अघि बढाउने तयारी गरिएको आयोजना प्रमुख केसीले बताउनुभयो ।

मुदीमै निर्माण हुन लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले समेत पहुँच मार्ग निर्माण सकेर सुरुङ निर्माणको तयारी गरेको आयोजनाका प्रवन्ध निर्देशक जितबहादुर घर्तिले जानकारी दिनुभयो । आयोजनाका अनुसार, पहुँचमार्ग, क्याम्प साइट लगायतका पूर्वाधार निर्माण सकिएको र बगर गाउँको पुछारमा रहने बाँध र नाउरामा रहने विद्युतगृहबाट सुरुङ खन्ने तयारी गरिएको छ । जलविद्युत आयोजनाहरु भित्रिएसंगै दुर्गम बस्तीको रुपमा रहेका खाम्ला, नाउरा, खिबाङ बगर लगायतका बस्तीमा सडकको पहुँच पुगेको छ ।