बेनीमा १० औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

  • २८ माघ २०८१, सोमबार
  • 233 पटक पढिएको

म्याग्दी सदरमुकाम बेनीमा दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबारदेखि बेनीको खुल्ला मञ्चमा प्रतियोगिता सुरु भएको हो । जिल्लामा रहेका स्थानीय तहहरुमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएपछि जिल्ला स्तरमा प्रतियोगिता आयोजना गरिएको हो ।


प्रतियोगितामा जिल्लामा रहेका छ वटा स्थानीय तहबाट छनोट भएर आएका करिब ६ सय विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सलआर्टतर्फ ९० पदकमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले प्रदेश स्तरमा हुने प्रतियोगिताको लागि खेलाडी छनौट गर्न र विद्यार्थीहरुको खेल क्षमताको प्रतिस्पर्धा गर्न प्रतियोगिताले सघाउने बताउनुभयो ।


उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले विद्यालय तहमा पहिचान हुने विद्यार्थीको खेल क्षमता र प्रतिभालाई राष्ट्रिय स्तरमा चिनारी गराउन राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताले सघाउने बताउनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई रनिङ शिल्ड, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगिताबाट आगामी फागुनको ५ र ६ गते गोरखामा हुने गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागीता जनाउने भलिबल तर्फबाट २०, कबड्डीबाट २०, मार्शल आर्टबाट ३६ र एथलेटिक्सबाट २४ गरी एक सय जना खेलाडीहरु समेत छनौट गरिनेछ