म्याग्दीमा रु ३३ करोड बढीको सुन्तला उत्पादन
- १३ माघ २०८१, आईतवार
- कमल खत्री
- 209 पटक पढिएको
म्याग्दी, १३ माघ । म्याग्दीमा रु ३३ करोड बढी मुल्यको सुन्तला उत्पादन भएको छ । जिल्लामा यस बर्ष सुन्तलाको उत्पादन बढेको र मूल्य समेत राम्रो पाएकाले कृषकहरुको आम्दानी बढेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले सुन्तला पकेट क्षेत्रहरुबाट विक्रि भएको सुन्तलाको विवरण अनुसार जिल्लामा रु ३३ करोड ४६ लाखको सुन्तला विक्रि भैसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार, कार्यालयले क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अध्ययन गरेको थियो । यस बर्ष जिल्लाका ६ वटै स्थानीय तहमा कुल चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत बर्ष जिल्लाबा तीन हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने सुन्तला विक्रिबाट जिल्लामा रु २४ करोड भित्रिएको थियो ।
म्याग्दीमा आठ सय २० हेक्टर जमिनमा सुन्तलाखेती हुँदै आएकोमा चार सय २५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । बेनी नगरपालिका ३ र ४ नम्बर वडाबाट मात्रै रु ६ करोड बढीको सुन्तला विक्रि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको अधिकाँश ठाउँका सुन्तला बोटबाटै विक्रि भइसकेको छ । अहिले बेनी नगरपालिकाको मरेक, अन्नपूर्ण गाउँपालिकाको दोसल्लेलगायतका ठाउँमा धमाधम सुन्तला टिप्ने काम भइरहेको छ ।
कृषकको बगैँचाबाटै प्रतिकिलो रु ६० देखि एक सय २० सम्मको मूल्यमा व्यापारीहरुले सुन्तला खरिद गरेका छन् । दोसल्ले व्यवसायिक सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले गाउँमा उत्पादन भएको सुन्तला धमाधम विक्रि भैरहेको र उत्पादन बढेकाले कृषकहरु उत्साहित बनेको बताउनुभयो । जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, बुटवल, भैरवा, नारायणगढलगायतका बजारमा निकासी हुँदै आएको छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l