धवलागिरी गाउँपालिकाको २३ औँ गाउँसभाः थप रु ४ करोड २१ लाख बजेट विनियोजन
- १० पुष २०८१, बुधबार
- 187 पटक पढिएको
म्याग्दी, १० पुस । म्याग्दीको धवलागिरी गाउँपालिकामा थप र ४ करोड २१ लाख १० हजार बजेट विनियोजन भएको छ । बुधवार सम्पन्न २३ औँ गाउँसभाले गत आर्थिक बर्षमा खर्च हुन बाँकी रहेको मौज्दात रकमलाई विभिन्न योजनामा विनियोजन गरेको हो ।
गाउँसभाले निर्माणधिन अवस्थामा रहेको गाउँपालिकाको प्रशासकीय भवन र गुर्जा जोड्ने मोटरबाटोलाई प्राथमिकता दिएर रु ६० /६० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले जानकारी दिनुभयो ।
सभामा उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको संसोधित बजेटलाई पारित गरिएको छ । गत असारमा सम्पन्न २२ औँ गाउँसभामा रु ४३ करोड ४३ लाख ४८ हजार बजेट पारित गरिएकोमा बुधवारको गाउँसभाले थप बजेट विनियोजन गरेर गाउँपालिकाको कुल बजेट रु ४७ करोड ६४ लाख ५८ हजारको संसोधित बजेट स्विकृत गरिएको गाउँपालिकाले जनाएको छ ।
सभाले विनियोजन ऐन २०८१ लाई संसोधन गर्नुका साथै विभिन्न योजनाहरुमा रकम थपका साथै रकमान्तर गर्ने निर्णय समेत गरेको छ । गाउँसभाको अवसरमा पालिकाभित्रका सामुदायिक विद्यालयमा ३० बर्षभन्दा बढी समय शिक्षण सेवा गर्नुभएका आठ जना शिक्षकहरुलाई नगद सहित सम्मान समेत गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख खेमराज सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, हेम माविका शिक्षकद्धय ठाकुर पौडेल, कर्ननाथ सुवेदी, धनजनता मावि फलियागाउँका प्रअ पूर्ण बहादुर भण्डारी, धौलागिरी मावि मुनाका शिक्षक मनबहादुर पुन, कोट आधारभूत विद्यालय काफलडाँडाका प्रअ हेमनाथ उपाध्याय, जगन्नाथ आधारभुत विद्यालय हिलापोखरीका प्रअ सुकदेव पौडेल, जनविकास मावि मराङका शिक्षक खडानन्द शर्मा र कल्लेनी आधारभुत विद्यालय कल्लेनका प्रअ भेषनाथ गौतमलाई जनही नगद रु ६ हजार ७ सयको साथमा दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।
सभामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले गाउँपालिकाले सञ्चालन गर्ने योजना तथा कार्यक्रमहरुलाई प्रभाबकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी र उपभोक्ताहरु जुट्नुपर्ने बताउनुभयो । भौगोलिक रुपमा विकटता र दुर्गमता रहेको पालिकाभित्रका बस्ती स्तरमा सञ्चालन हुने पूर्वाधार योजनालाई गुणस्तरीय, टिकाउ र निर्धारित समयमै निर्माण सम्पन्न गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । गाउँसभामा सामाजिक विकास समितिका संयोजक देवेन्द्र रोकाले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत अर्यालले गर्नुभएको थियो ।