डाडागाउँ र अर्मनमा माओवादीको वडा सम्मेलन
- ३ पुष २०८१, बुधबार
- 259 पटक पढिएको
अर्मनको सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटिका सहसचिव टेकबहादुर बि.क. (सुवास)ले माओवादीको आन्दोलनका कारण समाजमा पछाडी परेका समुदाय विकासको मुल धारमा आएको बताउनुभयो । “दश वर्षे जनयुद्धले देशमा राजनीतिक परिवर्तन मात्र होइन् महिला, दलित, आदीवासी, जनजातीहरुमाथि भएको थिचोमिचोको अन्त्य गर्न सहयोग पुगेको छ,” उहाँले भन्नुभयो “सुशासन, सम्बृद्धि र सामाजिक न्यायको मुद्दालाई माओवादीले जोड दिएको छ ।”
माओवादीले सरकारमा रहँदा र बाहिर रहेर गरेको जनपक्षीय कामहरुको जनताले मुल्याङ्कन गर्न थालेका पछिल्लो स्थानीय तह उपनिर्वाचनको नतिजाबाट देखिएको बताउदै उहाँले आगामी चुनाव माओवादी एक्लै प्रतिस्पर्धामा उत्रने बताउनुभयो ।
कार्यक्रममा माओवादीका गण्डकी प्रदेश सदस्य चन्द्र प्रसाद बुढाथोकी, गाउँपालिका कमिटिका अध्यक्ष याम रोका, युवा नेता पुनम खड्काले अर्मन देखि किमचौर हुदै ताराखोला जोड्ने सडकको स्तरोन्नति र पोक पिपलबोट छिसवाङ हुदै दरवाङ जोड्ने सडकलाई बेनी दरवाङ सडकको बाबियाचौर–दरवाङ खण्डको विकल्प बनाउन प्राथमिकताका साथ योजना सञ्चालन भएको बताउनुभयो ।
डाडागाउँमा भएको सम्मेलनमा सम्बोधन गर्दै माओवादी केन्द्रका युवा नेता गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशम बहादुर जुग्जालीले आफूहरु निर्वाचित भएपछि डाडागाउँ, ओखरबोट, रुम लगायत म्याग्दीका दुई हजार घरमा केन्द्रिय प्रशारण लाइनको विद्युत विस्तारका लागि रु. बीस करोडको योजना भित्र्याएको बताउनुभयो ।
अदिभारामा मोटरेबल पुल र अदिभारा डाडागाउँ सडक स्तरोन्नतिको क्रममा रहेको उहाँले जानकारी दिनुभयो । माओवादीले अवसर पाएमा विकास गर्न सक्छन भन्ने सन्देश आफूहरुले दिएको र जनतासँग गरेको वाचा पुरा गरेको बताउनुभयो । वडा अध्यक्ष मोतिप्रसाद बुढाथोकी, माओवादीका मालिका गाउँपालिका कमिटि अध्यक्ष अनुप गौचनले दुर्गम गाउँका बासिन्दाहरुको आवश्यकता र विकासको चाहना पुरा गर्न प्रतिवद्धता जनाउनुभयो ।