सिंगामा सौन्दर्यकला सम्बन्धी ४५ दिने डिप्लोमा तालिम सञ्चालन

  • २५ मंसिर २०८१, मंगलवार
  • 221 पटक पढिएको

सिंगा, १४ फागुन । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी ४५ दिने डिप्लोमा तालिम सञ्चालन भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको १२ औँ बार्षिक साधारण सभाको अवसरमा बेनी नगरपालिका– ४ को वडा कार्यालयको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
गत बर्ष शिवालय सामुदायिक सिकाई केन्द्र र वडा कार्यालयको आयोजनामा सम्पन्न सौन्दर्यकला सम्बन्धी आधारभूत तालिममा सहभागी भएकाहरुलाई यस पटक डिप्लोमा तहको तालिम सञ्चालन गरिएको हो । तालिममा सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत रहनुभएकी प्रजिया ब्युटीपार्लर टे«निङ सेन्टरका सञ्चालक गंगा कार्कीले व्यवहारिक रुपमा सोन्दर्यकला सम्वन्धी तालिम दिनुहुने भएको छ ।
तालिम उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल प्रसाद ढकाल र वडा अध्यक्ष अर्णबहादुर खड्काले आधारभूत तालिम लिएका महिलाहरुको क्षमता र दक्षता अभिबृद्धि गरि व्यवसायिक बन्न तालिमले सघाउ पुग्ने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य सन्दिप खत्री र प्रशिक्षक गंगा कार्कीले सौन्दर्यकला सम्बन्धि सिप विकास गर्न सकेमा रोजगारी र व्यवसायिक बनेर आत्मनिर्भर बन्ने सम्भावना रहेको बताउँदै तालिममा सक्रिय सहभागी भएर सिप सिक्न आग्रह गर्नुभएको थियो । शिवालय सामुदायिक सिकाई केन्द्रका अध्यक्ष भरत प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका सदस्य रामप्रसाद शर्माले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सदस्य सन्दिपा शर्माको स्वागत र परिचालक सिता थापा कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।