संरक्षकहरुको आयआर्जनमा सघाउन सामुहिक आलु खेती विस्तार

  • १८ मंसिर २०८१, मंगलवार
  • 183 पटक पढिएको

मानसिक रोगका विरामीका संरक्षकहरुको आयआर्जनमा सघाउन सामुहिक आलु खेति गरिएको छ । लिड्स नेपालले भिसेन्टी फेरर फाउण्डेशन, स्पेनको सहयोगमा म्याग्दीमा रहेका मानसिक रोगका विरामीका संरक्षकहरुलाई आयआर्जनमा सघाउन निःशुल्क रुपमा आलुको विउ वितरण गरेर सामुहिक आलु खेति विस्तार गरिएको हो ।


बेनी नगरपालिका–४ डाँडाखेत, ५ फुर्केसल्ला र ६ छापमा रहेका मानसिक रोगका विरामीका संरक्षकहरुसंगै गरिब, विपन्न र दलित समुदायलाई समेत आयआर्जनमा सघाउन सामुहिक आलु खेतिको लागि विउ वितरण गरिएको छ । तीन वटा समुहमा ५ देखि १३ जनासम्म आबद्ध रहेको र उनीहरुलाई कुल ७५० किलोग्राम आलुको विउ वितरण गरिएको लिड्स नेपालका कार्यक्रम संयोजक निशा महतले जानकारी दिनुभयो। उहाँका अनुसार, तीन वटै समूहले आलु रोपण गरिसकेका छन् । किसानहरुलाई औषधी छर्नका लागि स्प्रे मेसिन समेत वितरण गरिएको छ ।

यसैगरि लिड्सले गरिब विपन्न नागरिकको आयआर्जनमा सघाउन र उद्यमी बनाउनका लागि बेनी नगरपालिका–५ खोरगैराका गंगा दर्जिलाई कुटानी पिसानी मिल, बेनी नगरपालिका–९ तोरीपानीका युव गिरीलाई घाँस काट्ने मेसिन समेत सहयोग गरिएको कार्यक्रम संयोजक महतले बताउनुभयो । यससंस्थाले जिल्लाका विभिन्न ठाउँका अति विपन्न १२ जना मानसिक रोगका विरामीहरुलाई नियमित औषधी समेत उपलब्ध गराउँदै आएको छ ।

यसैबिच युएनडिपिको सहयोगमा संगम म्याग्दी र बेनी नगरपालिकाले सञ्चालन गरेको संवोदन परियोजनाले समेत संरक्षक संस्थामा आबद्ध १५ जनालाई उद्यमी बन्नका लागि रु १३ हजार पाँच सयका दरले आर्थिक सहायता प्रदान गरेको र दोस्रो किस्तामा समेत उक्त परियोजनाबाट पहिलो किस्ता बराबरकै रकम सहयोग हुने लिड्सले जनाएको छ । लिड्सले म्याग्दी कार्यक्षेत्र बनाएर मानसिक रोगका विरामीको उपचार तथा उनका संरक्षकहरुको आयआर्जनमा सुधार ल्याउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

लिड्सले यस अघि म्याग्दीमा प्राकृतिक प्रकोपका कारण घर भत्किएकाहरुको आवास पुननिर्माण, संरक्षकहरुको आयआर्जन सुधारमा कुखुराका चल्ला र माउ बाख्रा वितरण, सिपमुलक तालिम, औजार र सामाग्री प्रदान लगायतका काम गर्दै आएको छ । बेनी नगरपालिकाले गत बर्ष स्वास्थ्य विमाबाट छुटेको अति विपन्न पाँच मानसिक रोगका विरामीको घरपरिवारको स्वास्थ्य विमा गरिदिएको थियो भने यस बर्ष समेत उक्त सुविधाको लागि पहल गरिएको कार्यक्रम संयोजक महतले जानकारी दिनुभयो ।