समाजसेवि शाहीद्धारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण
- १४ कार्तिक २०८१, बुधबार
- 181 पटक पढिएको
म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका समाजसेवि कमल शाही(कुमार)ले एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गर्नुभएको छ । राखुमा सञ्चालित तीन सामुदायिक विद्यालयबाट एसइई परिक्षा २०८० मा ए प्लस ग्रेड ल्याउनेलाई रु १० हजार र ए ग्रेड ल्याउनेलाई जनही रु ५ हजार नगद पुरस्कार दिने शाहीले घोषणा गर्नुभएको थियो ।
पूर्व घोषणा अनुसार बुधवार रघुगंगा माविमा आयोजित एक समारोहमा सात जना विद्यार्थीहरुलाई प्रमाणपत्र सहित कुल नगद रु ४५ हजार पुरस्कार वितरण गरिएको हो । एसइई परिक्षामा ए प्लस ग्रेड ल्याउन सफल रघुगंगा माविका आशिका भुजेल र आर्यन शाहीलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिएको छ । त्यसैगरि परिक्षामा ए ग्रेड ल्याउन सफल रघुगंगा माविका सबिसा शर्मा,अनुप शार्की, मेनुका शर्मा, ज्ञानोदय माविका सोफिया मिजार र मुक्तिधाम माविका प्रतिक्षा थापालाई जनही नगद रु ५ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा रघुगंगा गाउँपालिका– ३ का वडा अध्यक्ष खिमबहादुर शाही र रघुगंगा माविका प्रधानध्यापक रमेशसिंह ठकुरी लगायतले उत्कृष्ट ततिजा ल्याएर उर्तिण विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
सिंगापुर पुलिसबाट सेवानिवृत पिप्लेको घोटडाँडा निवासी समाजसेवि शाहीले यसअघि पनि राखु क्षेत्रमा रहेका सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै आउनुभएको छ भने विभिन्न सामाजिक क्षेत्रमा सहयोग समेत गर्दै आउनुभएको छ ।