ज्ञानोदय माध्यमिक विद्यालयको ६० औँ बार्षिक उत्सव मनाइयो

  • ४ आश्विन २०८१, शुक्रबार
  • 1 पटक पढिएको

म्याग्दी, ४ असोज ।
म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयको ६० औँ बार्षिक उत्सव विविध कार्यक्रम गरि मनाइएको छ । बार्षिक उत्सवको अवसरमा विद्यालयले सम्मान तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । विद्यालयले कार्यसम्पादन मुल्यांकनका आधारमा उत्कृष्ट शिक्षकहरु, तहगत रुपमा उत्कृष्ट विद्यार्थीहरु, चन्दादाता र सहयोगदाताहरुलाई सम्मान गरेको छ ।


कार्यक्रमको उद्घाटन गर्दै रघुगंगा गाउँपालिका– ३ का वडा अध्यक्ष खिम बहादुर शाहीले एसइई परिक्षामा गाउँपालिकाभित्रमा लगातार उत्कृष्ट नतिजा ल्याउन सफल भएको ज्ञानोदय माविले शैक्षिक र भौतिक विकासमा फड्को मारेको बताउनुभयो । उहाँले पछिल्लो समय सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको अभाब हुने समस्या रहेको बताउँदै ज्ञानोदय माविले आफुले हासिल गरेका उपलब्धीहरुलाई नीरन्तरता दिएर अगाडी बढ्न आग्रह गर्नुभयो ।


कार्यक्रममा रघुगंगा गाउँपालिका–२ भगवती घर भइ हाल दुबइमा व्यवसाय गर्दै आउनुभएका प्रकाश कार्कीले विद्यालयमा रहेको दृष्टिविहिन स्रोत कक्षा सञ्चालनको लागि अक्षयकोष स्थापनार्थ रु १ लाख सहयोग गर्नुभएको छ । सहयोगदाा कार्कीको आमा नैनकली कार्की र दिदी सुनिता भण्डारीले उक्त सहयोग विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदी र प्रअ विजय शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । उक्त अवसरमा सहयोगदाता कार्कीले दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो कपडा समेत वितरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले विद्यालयको शैक्षिक र भौतिक सुधारको क्षेत्रमा समुदाय, सरोकारवाला र सहयोगदाताहरुको सहयोगले अगाडी बढेको बताउँदै सरकारी तवरबाट विद्यालय उपेक्षामा परेको बताउनुभएको थियो । कार्यक्रममा विद्यालयका सल्लाहकार निलकण्ठ सुवेदी, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश सुवेदी, चन्दादाता ठाकुर प्रसाद शर्मा, राहुघाट हाइड्रोका प्रशासन प्रमुख रविन्द्र आले, पवित्र आमा समूहका उपाध्यक्ष कमला शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका प्रअ बिजय शर्माले विद्यालयको बार्षिक प्रगति र आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका सदस्य कमला केसीले स्वागत र विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक अर्जुन पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।